काठमाडौं । डार्क हर्स इन्टरटेन्मेन्टको प्रस्तुति रहने नयाँ फिल्म ‘द राइज अफ साम्राज्य’को घोषणा गरिएको छ । निर्माण पक्षले सोमबार थिम पोस्टर सार्वजनिक गर्दै टाइटल अनाउन्समेन्ट गरेको हो ।
लेखक बुद्धिसागरको लेखन रहेको फिल्ममा सौरभ चौधरीको निर्देशन हुनेछ । फिल्मको निर्मातामा प्रवेश चौधरी र निला देव रहेका छन् । को–प्रोडुसरमा विश्वास बस्नेत (बेन) र कार्यकारी निर्मातामा शंकर पाण्डे छन् ।
थिम पोस्टरमा आगोको लप्कासँगै घोडामा सवार मानिसहरू र पुराना तथा राजर्सी कालखण्डका व्यक्ति देखिएका छन् । पोस्टरले द्वन्द्वको संकेत गरेको छ ।
पोस्टरको माथिल्लो र बायाँ भागमा उडिरहेको रातो कपडा वा झण्डाले क्रान्ति वा रगतको संकेत गरेको छ । त्यस्तै, पृष्ठभूमिमा केही व्यक्तिहरुले रामलीला नाटक देखाइरहेको धमिलो रूपमा देखिन्छ, जसले यो चलचित्र कुनै कालखण्ड वा रोचक कथामा आधारित रहेको बुझाउँछ ।
भदौ पहिलो साताबाट छायांकन सुरुवात गरिने फिल्मको अधिकांश सुटिङ पूर्वी नेपालमा हुने र ७० दिनको सुटिङ सेड्युल रहने निर्माण टिमले जानकारी गराएको छ ।
मानकृष्ण महर्जनको डीओपी रहने यो फिल्मको एक्सन डिरेक्टरमा श्री श्रेष्ठ छन् । डिजिटल पाटर्नरमा ओएसआर डिजिटल रहेको छ भने वितरकमा डिसीएन रहेको छ ।




