महाजनले ल्याए नेपालको जलस्रोत

काठमाडौं। जलस्रोत विज्ञ तथा राजनीतिज्ञ महाजन यादवद्वारा लिखित पुस्तक नेपालको जलस्रोत आइतबार काठमाडौंस्थित नेपाल प्रज्ञा–प्रतिष्ठान, कमलादीमा सार्वजनिक गरिएको छ। जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले पुस्तकको लोकार्पण गर्दै नेपालको जलसम्पदालाई राष्ट्रिय समृद्धिको प्रमुख आधारका रूपमा विकास गर्न दीर्घकालीन रणनीति आवश्यक रहेको बताए ।

नेपाली र अंग्रेजी भाषामा प्रकाशित पुस्तकमा नेपालको जलस्रोत विकासको वर्तमान अवस्था, सम्भावना, नीतिगत चुनौती, जलवायु परिवर्तनको प्रभाव, जल व्यवस्थापन, ऊर्जा, सिँचाइ तथा दिगो विकासका विभिन्न आयामलाई तथ्य र विश्लेषणसहित समेटिएको लेखक महाजन यादवले जानकारी दिए।

पुस्तक सार्वजनिक गर्दै उपेन्द्र यादवले नेपाल विश्वकै जलसम्पन्न मुलुक भए पनि त्यसको वैज्ञानिक, योजनाबद्ध र राष्ट्रिय हितअनुकूल उपयोग हुन नसकेको उल्लेख गरे। उनले जलस्रोतलाई केवल विद्युत् उत्पादनमा सीमित नराखी कृषि, खानेपानी, सिँचाइ, उद्योग, वातावरण संरक्षण तथा समग्र आर्थिक रूपान्तरणसँग जोडेर दीर्घकालीन राष्ट्रिय रणनीति निर्माण गर्नुपर्नेमा जोड दिए।

लेखक महाजन यादवले पुस्तक लेख्नुको उद्देश्य नेपालमा जलस्रोतसम्बन्धी नीतिगत बहसलाई तथ्यपरक बनाउनु र नीति निर्माता, अनुसन्धानकर्ता, विद्यार्थी तथा सरोकारवालाका लागि उपयोगी सन्दर्भ सामग्री उपलब्ध गराउनु रहेको बताए।

उनका अनुसार पुस्तकले नेपालको जलस्रोत विकासको ऐतिहासिक पृष्ठभूमिदेखि भविष्यका अवसर र चुनौतीसम्मको विस्तृत विश्लेषण प्रस्तुत गर्नुका साथै जलवायु परिवर्तनको युगमा अवलम्बन गर्नुपर्ने नीतिगत तथा व्यावहारिक उपायहरू पनि समेटेको छ।

आयोजकका अनुसार जलस्रोत क्षेत्रसँग सम्बन्धित नीति निर्माण, अध्ययन तथा अनुसन्धानका लागि पुस्तक महत्वपूर्ण सन्दर्भ सामग्री बन्ने अपेक्षा गरिएको छ। कार्यक्रममा विभिन्न राजनीतिक दलका नेता, जलस्रोत क्षेत्रका विज्ञ, शिक्षाविद्, अनुसन्धानकर्ता तथा सरोकारवालाको उपस्थिति रहेको थियो।