दुई महिनामा सिन्दुरे जात्रा पुरा

काठमाडौं । फिल्म ‘सिन्दुरे जात्रा’को छायांकन सकिएको छ । पहिलो र दोस्रो चरण गरेर भएको फिल्मको छायांकन मंगलबार सकिएको हो । गत जेठ १ गते पर्वत जिल्लाको कुस्मा नगरपालिकास्थित आर्थर डाँडाखर्कको रमणीय भूगोलबाट यो फिल्मको छायांकन सुरु भएको थियो ।

तर १५ दिनको छायांकन सकिएलगत्तै मुख्य अभिनेता विजय बराल घाइते भएपछि निर्माण कार्य केही समयका लागि स्थगित गर्नुपरेको थियो । उनको दाहिने हातको नाडीमा चोट लागेको थियो । विजय पूर्ण रूपमा स्वस्थ भएपछि पुनः दोस्रो चरणको छायांकन सुरु गरी मंगलबार समापन गरिएको हो ।

दुई चरणमा बाँडिएको यो फिल्मको छायांकनका लागि ४० दिन लागेको निर्देशक सरोज पौडेलले जानकारी दिए । उनले राम्रो सिनेमा बनाउन कलाकार र प्राविधिकले मेहनत गरेको भन्दै धन्यवाद दिएका छन् ।

फिल्ममार्फत निर्देशक सरोज पौडेल र कलाकारद्वय विजय बराल तथा अञ्जना बराइलीले दोस्रो पटक सहकार्य गरेका छन् । यसअघि यो टिमले ‘पूर्णबहादुरको सारङ्गी’मा सँगै काम गरेका थिए ।

सारङ्गी फिल्म्सको प्रस्तुतिमा निर्माण भइरहेको यस फिल्ममा विजय र अञ्जनाका अलावा विनोद न्यौपाने, रामप्रसाद खनाल, कमलमणि नेपाल, लोकेन्द्र लेखक, भोलाराज सापकोटा, पूर्वमिस नेपाल उषा खड्गी, हिउँवाला गौतम, राकेश खड्का, रजनी गुरुङलगायतका कलाकारहरूको पनि अभिनय देख्न सकिनेछ ।

सबिन अधिकारी र वसन्त न्यौपानेको लेखन रहेको फिल्ममा निर्देशक पौडेल स्वयंको कथा छ । फिल्मका कार्यकारी निर्माता दिनेश खड्का हुन् भने आकाश, सुमन रञ्जित र श्याम मगर सह–निर्मातामा छन् । रोहित कट्टेल र रत्न श्रेष्ठको आरआर फिल्मसले देशव्यापी वितरण गर्ने फिल्म आगामी मंसिर ४ गते रिलिज हुने छ ।