खेमनाथको जागृति सार्वजनिक

काठमाडौं । गीति एल्बम ‘जागृति’ राजधानीमा सार्वजनिक भएको छ । मिलापले आयोजना गरेको कार्यक्रममा महाकाव्यकार खेमनाथ दाहालद्वारा रचित ‘स्वेतपत्र’ महाकाव्य तथा ‘योद्धा’ काव्यबाट साभार गरिएका गीतहरू समेटिएको यो एलबम सार्वजनिक गरिएको हो ।

मिलापका प्रधान सम्पादक कृष्ण भुसालको सभापतित्व र शिक्षाविद् डा.यज्ञेश्वर निरौलाको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा गायक रमेश पाठकले स्वागत मन्तव्य राखेका थिए ।

कार्यक्रममा एल्बममा समावेश पाँच गीत ‘बुद्धको देश नेपाल’, ‘लालीगुराँसको साटो’, ‘बित्छ बिहान आमाको’, ‘फुल्छ बागमा फूल’ र ‘गाउँछौ अब लौ आमाका गीत’ औपचारिक रूपमा सार्वजनिक गरिएको थियो । यी गीतहरूमा राष्ट्रप्रेम, मातृत्व, प्रकृतिप्रेम, सांस्कृतिक गौरव र मानवीय संवेदनाका विविध आयाम सशक्त रूपमा अभिव्यक्त भएका छन् ।

एल्बमका तीन गीत ‘बुद्धको देश नेपाल’, ‘लालीगुराँसको साटो’ र ‘फुल्छ बागमा फूल’ मा संगीतकार तथा गायक श्रेष्ठको स्वर रहेको छ । त्यसैगरी ‘बित्छ बिहान आमाको’ मा गायिका ज्ञानु राणा तथा ‘गाउँछौ अब लौ आमाका गीत’ मा गायक रमेश पाठकको स्वर सुन्न सकिन्छ । सबै गीतमा संगीतकार सन्तोष श्रेष्ठले संगीत भरेका छन् ।

एल्बमका संगीतकार सन्तोष श्रेष्ठले महाकाव्यका श्लोकलाई गीतमा रूपान्तरण गर्नु सहज नभएको बताए । महाकाव्यकार दाहालले आफ्ना काव्यमा रहेका श्लोकहरू गीतका रूपमा जनमानससम्म पुग्न थालेकोमा खुशी व्यक्त गरे ।

डा. निरौलाले साहित्य र संगीत एकअर्काका परिपूरक विधा भएको उल्लेख गर्दै महाकाव्यका गहिरा भाव, दर्शन र जीवनदृष्टिलाई गीतमार्फत जनमानससम्म पुर्‍याउने प्रयासको उच्च प्रशंसा गरे ।

सभापति भुसालले साहित्य र संगीतको सहकार्यले नेपाली सिर्जनशीलतालाई नयाँ आयाम प्रदान गरिरहेको उल्लेख गरे ।