ल्याङ्ग ल्याङ्गमा जोडिए जीवन

काठमाडौं । फिल्म ‘ल्याङ्ग ल्याङ्ग’को मुख्य भूमिकामा कलाकार जीवनजंग बस्न्यात अनुबन्धित भएका छन् । फिल्मका निर्देशक बलिराम चौहान र बस्न्यातबीच कागजी सम्झौंता भएको छ । बस्न्यात यही फिल्ममार्फत् पहिलोपटक मुख्य भूमिकामा देखिन लागेका हुन् । यसअघि उनले फिल्म ‘रमिताको पिरती’ मा छोटो भूमिका निर्वाह गरेका थिए ।

उनले हिमालयन टेलिभिजनको कार्यक्रम ‘कठघरा’ मा ‘रक्षक’को भूमिका समेत निभाएका छन् । सुनसरीको कालाबञ्जर निवासी बस्न्यात लामो समयदेखि रंगमञ्च, सर्ट सिनेमा, म्युजिक भिडियो र टेलिभिजनमार्फत अभिनयमा सक्रिय छन् ।

१२ वर्षको उमेरमै नाटक ‘कलालय इटहरी’ मार्फत उनले रंगमञ्च यात्रा सुरु गरेका थिए । त्यसयता बस्न्यातले हालसम्म दर्जनौँ नाटक, २०० भन्दा बढी सर्ट सिनेमा, दर्जनौँ म्युजिक भिडियो तथा टेलिभिजन विज्ञापनमा अभिनय गरिसकेका छन् । यसबाहेक फेसबुक, इन्स्टाग्राम र टिकटकमा अभिनयप्रधान भिडियोमार्फत पनि उनी दर्शकमाझ लोकप्रिय छन् ।

उनले अभिनेता अनमोल केसी अभिनीत फिल्म ‘फर्की फर्की’ र ‘सानो संसार’, साथै गायक सुजन चापागाईंको गीत ‘फुलथुङ्गे रानी’ मा ब्याकग्राउन्ड आर्टिस्ट (एक्स्ट्राज) का रूपमा काम गरेका थिए ।

उनले ओस्कार अन्तर्राष्ट्रिय कलेजबाट फिल्म अध्ययनमा स्नातक (अभिनय मुख्य विषय) पूरा गरेका छन् । हाल उनी फिल्म स्टडीजमै स्नातकोत्तर अध्ययनको तयारीमा छन् ।

स्काई फल पिक्चर्सको ब्यानरमा निर्माण हुन लागेको फिल्ममा भोलानाथ कटवालको लगानीमा बन्नेछ । यसअघि फिल्ममा रिहान गिरी र सन्तोष बानियाँ अनुबन्धित भइसकेका छन् ।