काठमाडौं । फिल्म ‘लज्जावती’ को ‘मलाई पिर परेको तिम्लाई के थाहा छ’ बोलको गीत सार्वजनिक भएको छ । निर्माण टिमले बिहीबार गीत युट्युबबाट सार्वजनिक गरेको हो ।
गीतको भिडियोमा फिल्मका कलाकार मेनुका माझी र श्रीकृष्ण निरौलाको प्रेम र विछोडपछिको अवस्थालाई चित्रण गरिएको छ । भिडियोमा कलाकार निरौला प्रेमीले छोडेर गएपछि पागलप्रमीझैं बनेको देखाइएको छ ।
प्रेमिकाबाट छुटेपछि उनी हराएको र कलाकार मुकुन भुसाल र जानुका विश्वकर्मा उनलाई खोज्दै हिँडिरहेको दृश्यमा समेटिएको छ । गायक थानेश्वर गौतमको स्वर रहेको गीत भीम कुमार ओझाले लेखेका हुन् । गीतमा सन्तोष बिसीले संगीत भरेका छन् भने नारायण दंगालको संगीत संयोजन रहेको छ ।
यसअघि फिल्मको पहिलो गीत ‘दिलको मोटर’ सार्वजनिक गरिएको थियो । यो गीत यतिवेला समाजिक सञ्जाल टिकटक र फेसबुक रिल्समा चर्चित बनिरहेको छ ।
यही साउन २९ गतेदेखि प्रदर्शनमा आउने फिल्मका निर्देशक राजबहादुर साने हुन् । फिल्ममा मुकुन भुसाल, श्रीकृष्ण निरौला, जानुका विश्वकर्मा, मेनुका माझी, केशव रिजाल, धीरेन शाक्य, प्रिया रिजाल, हिउँवाला गौतम, विशाल पहारी, सिपी पौडेल, आरआर खड्का, विनोद श्रेष्ठ, दीपक थापा र काजल भुजेलले अभिनय गरेका छन् ।
आहा फिल्म्स प्रालिको प्रस्तुतिमा निर्माण भएको फिल्मका प्रस्तुतकर्ता सौरभ वली हुन् । कमलप्रसाद शर्मा र सन्दीप कुमार रोकाया निर्माता रहेको सिनेमाका कार्यकारी निर्माता दिनेश बुढाथोकी हुन् ।
त्यस्तै, फिल्मको सम्पादन तारा थापा ‘किम्भे’ले गरेका छन् भने द्वन्द्व निर्देशन देव महर्जनको रहेको छ । दिव्यराज सुवेदीको छायांकन रहेको फिल्म कुबेर सिने डिस्ट्रिब्युसनले वितरण गर्दैछ ।





