नवौं ग्लोबल नेपाली फिल्म अवार्ड स्थगित

काठमाडौं । नेपाल फिल्म सोसाइटी, ग्लोबल नेपाली फिल्म अवार्ड एलएलसी, अमेरिका तथा भारा इन्टरटेन्मेन्ट, अष्ट्रेलियाको संयुक्त आयोजनामा अष्ट्रेलियाको सिड्नीमा आगामी १७ डिसेम्बरमा आयोजना गर्ने तय भएको नवौं ग्लोबल नेपाली फिल्म अवार्ड–२०२६ स्थगित गरिएको छ ।

आयोजकले आइतबार एक विज्ञप्तीमार्फत नेपालमा पछिल्लो समय उत्पन्न भएको अकल्पनीय प्राकृतिक प्रकोपले सिंगो राष्ट्रलाई गहिरो पीडा र शोकमा डुबाएको भन्दै यस विपत्तिमा धेरै अमूल्य जीवनहरू गुमेका, धेरै परिवारले आफ्ना आफन्त गुमाएका छन् र देश अझै पनि यस पीडा, दुःख र कठिन परिस्थितिबाट माथि उठ्न संघर्ष गरिरहेकोले अवार्ड स्थगित गर्नु परेको जानकारी दिएका छन् ।

‘ग्लोबल नेपाली फिल्म अवार्ड नेपाली फिल्म, कलाकार तथा फिल्मकर्मीहरूको सम्मान र नेपाली कला–संस्कृतिको अन्तर्राष्ट्रिय प्रवर्द्धनका लागि आयोजना हुँदै आएको कार्यक्रम हो। तर, अहिलेको अवस्थामा एउटा कार्यक्रमभन्दा पनि पीडामा रहेको आफ्नै देश र जनताको साथमा उभिनु, उनीहरूको दुःखमा ऐक्यबद्धता जनाउनु र मानवीय संवेदना प्रस्तुत गर्नु नै हाम्रो पहिलो दायित्व हो’, नेपाल फिल्म सोसाइटी, नेपालका कृष्ण मल्ल, ग्लोबल नेपाली फिल्म अवार्ड एलएलसी, अमेरिकाका नवराज श्रेष्ठ, भारा इन्टरटेनमेन्ट, अष्ट्रेलियाका अरुण श्रेष्ठ र रुपेश भट्टराईद्वारा जारी विज्ञप्तीमा उल्लेख छ ।

विज्ञप्तीमा अगाडि भनिएको छ, ‘हामी विश्वास गर्छौं–दुःखमा साथ दिनु नै साँचो ऐक्यबद्धता हो। आज नेपाल रोइरहेको बेला हामी विदेशमा रहेर पनि नेपालको पीडाबाट अलग रहन सक्दैनौं। त्यसैले उत्सवभन्दा पहिले संवेदना, कार्यक्रमभन्दा पहिले ऐक्यबद्धता र मनोरञ्जनभन्दा पहिले मानवीयता रोज्ने निर्णय गरेका छौं।’

कार्यक्रमको नयाँ मिति सम्बन्धित पक्षहरू, कलाकार, फिल्मकर्मी, प्रायोजक तथा साझेदार संस्थाहरूसँग आवश्यक परामर्श र समन्वय गरी तय गरिने आयोजकको भनाई छ ।