काठमाडौं । यही शुक्रबारबाट रिलिजको तयारीमा रहेको फिल्म ‘बाः एक योद्धा’ले तत्कालका लागि रिलिज मिति स्थगित गरेको छ । गत भदौ १० गते रसुवा जिल्लाको भोटेकोशी नदीमा आएको भीषण बाढीले पुर्याएको अकल्पनीय जनधनको क्षतिप्रति स्तब्ध र मर्माहत भएको भन्दै फिल्म निर्माण कम्पनी आर्टिस्टिक इन्टरटेन्मेन्टले आगामी मंसिर २४ गतेलाई नयाँ मिति घोषणा गरेको छ ।
फिल्मका निर्माता वसन्त लम्सालद्वारा जारी विज्ञप्तीमा फिल्म समाजको ऐना मात्र नभई मानवीय संवेदनाको संवाहक पनि रहेकाले देशको एउटा भूगोल अकल्पनीय प्रलयमा परी बुवा–आमा, दाजुभाइ(दिदीबहिनीहरूले आर्तनाद गरिरहेको वर्तमान अवस्थामा एउटा सामाजिक र पारिवारिक कथावस्तु बोकेको फिल्म हाल प्रदर्शन गर्न उपयुक्र्त नठानेको उल्लेख गरिएको छ ।
‘देशको यो विषम परिस्थिति, जनमानसको विक्षिप्त मानसिकता र पीडितहरूप्रतिको साझा ऐक्यबद्धतालाई सम्मान गर्दै आगामी भदौ १९ गतेबाट देशभर प्रदर्शनका लागि तय भएको हाम्रो चलचित्र ‘बाः एक योद्धा’ को प्रदर्शन हाललाई स्थगित गरिएको र चलचित्रको नयाँ प्रदर्शन मिति आगामी मङ्सिर २४ गते बिहिबारलाई तोकिएको जानकारी पनि गराउंछौं । यस निर्णयबाट हाम्रा आदरणीय दर्शक, प्रदर्शक, वितरक तथा सञ्चारकर्मीहरूमा पर्न गएको असुविधाप्रति हामी क्षमाप्रार्थी छौँ,’ विज्ञप्तीमा भनिएको छ ।
विज्ञप्तीमा फिल्मको तर्फबाट २ लाख १ हजार प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिएको उल्लेख गर्दै राष्ट्र नै शोकमा डुबेको यस विषम परिस्थितिमा एकजुट भई राहत र उद्धार कार्यमा आ–आफ्नो तर्फबाट सहयोग गर्न आव्हान गरिएको छ ।
संगीतकार हरि लम्सालको डेब्यू निर्देशन रहेको फिल्ममा सुहाना थापा, दिव्यदेव पन्त, झरना थापा, माओत्से गुरुङ, अनिल बुढाथोकी, सागर खनाल, शिशिर सिवाकोटी, सुप्रज्ञा शर्मा र शवि थापाको अभिनय छ ।





