काठमाडौं । भारतमा आगामी सेप्टेम्बर ११ मा फिल्म ‘फोर रिभर्स, सिक्स रेन्जेज’ रिलिज हुँदैछ । यो फिल्मको कथा कुनै ऐतिहासिक घटनामा आधारितमात्र छैन, यसले भुराजनीतिक मुद्धालाई पनि उठान गरेको छ । यसको निर्देशन दार्जिलिङमा जन्मिएका तिब्बती फिल्म निर्माता शेनपेन खिमसारले गरेका छन् । चीन सरकारले भने यो फिल्मप्रति रोष प्रकट गरेको छ ।
फिल्मले सन् १९५९ मा तिब्बतबाट भारतमा दलाई लामाको पलायन र त्यो समय उनको सुरक्षामा खटिएका तिब्बती प्रतिरोध संगठन चुशी गंगद्रुकको लडाकुको कथा बोलेको छ । दलाई लामालाई सकुशल भारत पु¥याउनमा यो संगठनको लडाकुको अहम भूमिका थियो । फिल्मको नाम यही रेजिस्टेन्स ग्रुपको नाममा राखिएको हो । चुशी गंगद्रुकलाई तिब्बतमा चार नदी र ६ पर्वत श्रृंखलाका रुपमा चिनिन्छ ।
यो नाम पूर्वी तिब्बतको खाम इलाकासँग जोडिएको छ र पछि यही नामबाट एक तिब्बती सशस्त्र प्रतिरोध आन्दोलनले पनि चर्चा पाएको थियो । फिल्मले यही आन्दोलनको ती लडाकुलाई केन्द्रमा राखेको छ, जसले सन् १९५९ मा दलाई लामालाई तिब्बतबाट निकालेर भारतसम्म सुरक्षित पु¥याउने मिसनमा सहभागी थिए । रोचक कुरा के छ भने फिल्मका निर्माता डोर्जी वांगडी देवत्सांगका पिता पनि दलाई लामालाई तिब्बतबाट भारत ल्याउन सहयोग गर्ने व्यक्ति थिए ।
यो फिल्मको कथा उनको किताब ‘फ्लाइट एट द कुकोस बेहेस्ट’बाट प्रेरित छ । निर्देशक खिमसारले यो प्रोजेक्टका लागि वर्षौसम्म अनुसन्धान गरेका थिए र त्यो रेजिस्टेन्स ग्रुपसँग जोडिएका बुर्जुग, लडाकु र उनका परिवारसँग भेटघाट गरेका थिए । जो त्यो घटनाको साक्षी थिए ।
फिल्मको छायांकन नेपालको मुस्ताङमा गरिएको छ । जुन चीनको सीमा नजिक पर्छ । निर्देशक खिमसारका अनुसार नेपालमा तिब्बत, दलाई लामा या चीन विरोधी गतिविधिसँग जोडिएको फिल्मको सुटिङका लागि अनुमति लिन निकै गाह्रो थियो । फिल्मको यही स्क्रिप्टमा काम गर्ने अनुमति लिएर सुटिङ गरिएको थियो ।
यो फिल्मको सुटिङ कुनै सामान्य फिल्मको सेड्युल जसरी गरिएन । आम रुपमा यस्तो कथाको फिल्मको सुटिङ गर्न डेढ देखि दुई महिनासम्म समय लाग्छ । तर खिमसार र उनको टिमलाई यति धेरै समय थिएन । निर्देशक खिमसारका अनुसार उनले १९ दिनमा नै सुटिङ पुरा गरे । यो फिल्मको बजेट ६ करोड थियो ।
यो फिल्मप्रति चीन किन रिसाएको छ भन्ने चर्चा उत्तिकै छ । जसको प्रमुख कारण फिल्मको कथा र त्यसको राजनीतिक दृष्टिकोण नै हो । फिल्ममा तिब्बती लडाकुलाई आफ्नो धर्म, जमीन र दलाई लामाको रक्षाका लागि हतियार उठाएको देखाइएको छ । अर्थात् फिल्मले तिब्बतको इतिहासलाई त्यो नजरबाट देखाएको छ, जसमा तिब्बती प्रतिरोध र स्वतन्त्रताको आकांक्षाको कथा केन्द्रमा राखिएको छ ।
चीनले फिल्मले इतिहासलाई तोडमोड गरेको आरोप लगाएको छ । चीनले फिल्मले तिब्बतलाई चीनबाट अलग देखाउने कोशिस र अलग्याउने न्यारेटिभ प्रयोग गरेको भनेको छ ।





