काठमाडौं । बलिउड अभिनेता सोनु सूद यतिबेला नेपालमा छन् । गत भदौ १० गते गएको विनाशकारी बाढीबाट पीडित बनेका नेपाली समुदायलाई राहत सहयोग गर्न सोनु नेपालमा छन् ।
उनी मंगलबार नुवाकोट पुगेका थिए । जहाँका केही तस्वीर उनले इन्स्टाग्राममा शेयर गरेका छन् । ती तस्वीरमा सोनुलाई बाढी पीडित जनता र बालबालिकामाझ देख्न सकिन्छ ।
‘यी बालबालिकाहरुले आफ्नो घर, परिवार र आफ्नो बाल्यकाल गुमाएका छन् । तर हामी सबै मिलेर एक नयाँ सुरुवात गर्नेछौं । नेपालका जनताहरु यो संकटको समयमा आफूलाई एक्लो अनुभव नगर्नु होला’, बालबालिकासँग खुशी भावका तस्वीर राख्दै सोनुले लेखेका छन् ।
उनले स्थानीय सञ्चारमाध्यमसँग पीडितलाई भेट्न र अत्यावश्यक सामान दिन नेपाल आएको बताएका छन् । उनले भारतबाट धेरै सामान आएको बताउँदै पीडितलाई साथ दिन र उनीहरुको जिन्दगीलाई पुरानै अवस्थामा फर्काउन नेपाल आएको उल्लेख गरेका छन् ।
उनले भारतबाट नेपाल सामान पठाउन केही चुनौति भए पनि राहतको काम आउने महिनासम्म निरन्तर रहने प्रतिबद्धता जनाएका छन् ।





