काठमाडौं । अभिनेत्री तथा निर्देशक नीता ढुङ्गानाद्वारा निर्देशित फिल्म ‘पार्वती’ले घरेलु बक्स अफिसमा आक्रामक व्यापारिक पुनरागमन गरेको छ। प्रदर्शनको पहिलो र दोस्रो दिन न्यून दर्शक उपस्थिति तथा रसुवामा गएको भीषण बाढीपहिरोका कारण सुरुवाती धक्का व्यहोरेको फिल्मले तेस्रो दिनदेखि बलियो माउथ पब्लिसिटी पाउँदै व्यापारमा ठूलो फड्को मारेको हो।
सुरुवातमा नगण्य सो पाएको यस फिल्मले दर्शकको बढ्दो चापसँगै हाल देशभरका हलहरूमा ११० भन्दा बढी सो पाएको छ । अटिजम प्रभावित दिदीप्रति भाइले देखाएको अगाध प्रेम र पारिवारिक सङ्घर्षको भावुक कथावस्तु नै यस फिल्मको सफलताको मुख्य जग मानिएको छ।
यतिबेला यस फिल्मका कलाकार सहित निर्माण टिम नेपालको पश्चिम क्षेत्र कैलाली,कञ्चनपुर लगायतका हलमा दर्शकसँग साक्षात्कार गर्न पुगेका छन्। उनीहरुले दर्शकबाट राम्रो प्रतिक्रिया पाइरहेको जानकारी दिएका छन्।
हरिहर अधिकारीको निर्माण रहेको यस फिल्ममा नीताका साथै अशोक दर्जी, दीपाश्री निरौला, सिरु विष्ट, राधिका कँडेल, राज पंगेनी शर्मा, राजेन्द्र नेपाली र आशा पौडेलको अभिनय रहेको छ।





