रोहितको फिल्ममा पल र अनमोल

काठमाडौं । निर्माता रोहित अधिकारीले नेपाली फिल्मका दुई हटकेक पल शाह र अनमोल केसीसँग सहकार्य गर्ने भएका छन् । केही दिनअघि अनमोलसँग महँगो पारिश्रमिकमा सम्झौता गरेसँगै रोहितले पललाई लिएर पनि नयाँ फिल्म निर्माण गर्ने तयारी अघि बढाएका छन् ।

दुवै फिल्म रोहित अधिकारी फिल्मस्को ब्यानरमा निर्माण हुन लागेको हो । रोहितले यसअघि निर्माण गरेको सफल फिल्म ‘फर्की फर्की’को सिक्वेलमा अनमोल केसीलाई दोहो¥याउने तयारी गरेका छन् । अनमोलसँग हालै सम्झौता भइसकेको र फिल्मको निर्देशनका लागि सुयोग गुरुङ पनि अनुबन्धित भएका छन् ।

फिल्मको सिक्वेलको नाम ‘फर्की फर्कीः बियोन्ड टाइम’ राखिएको छ । फिल्ममा अनमोलसँगै जसिता गुरुङको पनि अभिनय रहनेछ । फिल्मको निर्मातामा शोभा ढकाल र कार्यकारी निर्मातामा सुरज बम ठकुरी रहनेछन् ।

यता पलसँग भने फिल्मका विषयमा मौखिक सहमति भइसकेको र औपचारिक सम्झौता हुन बाँकी रहेको रोहितले बताएका छन् । पल अहिले ‘यानीमाया’मा व्यस्त छन् ।

दशैंमा रोहित अधिकारी र दीपकराज गिरी–दीपाश्री निरौलाको सहकार्यमा निर्माण भएको ‘छ माया छपक्कै २’ प्रदर्शनमा आएपछि पलको ‘यानीमाया’को छायांकन पनि सकिनेछ । पलसँग औपचारिक सम्झौता गरेर पुसको पहिलो साताबाट पलसँग नयाँ फिल्मको छायांकन सुरु गर्ने तयारी रोहितको छ ।