काठमाडौँ । भदौ २६ गते शुक्रबारबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘अक्षरा’ले सेन्सर बोर्डबाट युनिभर्सल सर्टिफिकेट प्राप्त गरेको छ। २ घण्टा १४ मिनेट लम्बाइ रहेको यस फिल्मले सेन्सर बोर्डबाट व्यावसायिक प्रदर्शनका लागि स्वीकृति पाएसँगै निर्मण पक्ष उतसाहित देखिएका छन्।
अभिभावकले छोरीको चाहना र इच्छाविपरीत खान्दानी केटो हेरेर जबरजस्ती विवाह गरिदिएपछि उत्पन्न हुने पारिवारिक समस्या र त्यसको सामाजिक असरलाई मुख्य विषयवस्तु बनाइएको फिल्ममा विनयराज पौडेलको निर्देशन छ ।
फिल्ममा सुशील सिटौला, न्यान्सी खड्का, सुशील पोखरेल, अंशु महर्जन, पुष्कर राउत, रिस्ता अधिकारी, उत्तम केसी, गीता अधिकारी, वीरेन्द्र कुशवाह, सृजना अधिकारी, मोहन अधिकारी, सुमन ज्योति न्यौपाने (ल्याग्री दादा) र सृष्टि खड्काको अभिनय छ । फिल्ममा बालकलाकारका रूपमा रोनक खड्का र प्रीसा ढुङ्गाना रहेका छन्।
क्षित बाबु प्रोडक्सन हाउसको ब्यानरमा निर्मित फिल्मकी प्रस्तुतकर्ता सोनी थापा (ढुङ्गाना) हुन् भने उग्रसेन ढुङ्गाना र सुग्रसेन ढुङ्गानाले लगानी गरेका छन्। फिल्मको कार्यकारी निर्मातामा सुरज थापाकाजी र सुमन ज्योति न्यौपाने छन्।
निर्माता उग्रसेन स्वयंको कथा रहेको फिल्मको पटकथा तथा संवाद अभिमन्यु निरवी र निर्देशक पौडेलले संयुक्त रूपमा तयार पारेका हुन्। नेसनल सिने ग्रुप नेपालका तर्फबाट दीपक दंगालले वितरण गर्न लागेको यस फिल्मको डिजिटल अधिकार ओएसआर डिजिटलले खरिद गरेको छ।







