काठमाडौं । फिल्म ‘अन्तिम दाउ’ को औपचारिक घोषणा गरिएको छ । निर्माण पक्षले फिल्मको थिम र मुख्य कलाकारहरूको क्यारेक्टर लुक्स झल्काउने दुईवटा फरक फर्स्टलुक पोस्टर सार्वजनिक गर्दै फिल्म निर्माण सुरु भएको जानकारी दिएको हो ।
फ्रेम इन मोसन पिक्चर्सको प्रस्तुति रहने यो फिल्ममा बिजु पार्कीको डेब्यू निर्देशन हुनेछ । पहिलो पोस्टरमा ६ जना मुख्य कलाकारहरूलाई एउटै लाइनमा देखाइएको छ । पोस्टरको पृष्ठभूमिमा घना जङ्गल र पहाडको दृश्य छ, जसले कथाको परिवेश कुनै दुर्गम वा जङ्गली क्षेत्रसँग जोडिएको बुझाउँछ ।
पोस्टरमा कलाकारहरूको अनुहारमा चोट र रगत लत्पत्तिएको छ । पोस्टरको दुई किनारामा रहेका कलाकारहरू कविता नेपाली र निश्चल प्रधान रहस्यमयी ढङ्गले मुस्कुराइरहेका देखिन्छन् ।
त्यस्तै, दोस्रो पोस्टरमा रातो रङ्गको एउटा ठाडो पट्टीमा ‘२०२७’ लेखिएको छ । यो अङ्कले फिल्मको कथा भविष्यको समयमा आधारित रहेको वा प्रदर्शन मिति सम्बन्धित रहेको सङ्केत गर्छ । यस पोस्टरमा कविता र निश्चलको अनुहारलाई केन्द्रमा राखेर बाँकी चार कलाकारलाई तलको भागमा राखिएको छ । पोस्टरमा विजय लामा, अर्पण थापा, शुशांक मैनाली र पेमा दावा लामा पनि छन् ।
विजय लामा, अर्पण थापा, कविता नेपाली, शुशांक मैनाली, निश्चल प्रधान, पेमा दावा लामा र बिमल पुरीको मुख्य अभिनय रहने फिल्मको सह–निर्माता सुवास तामाङ, कर्मा लामा र पासाङ नोर्बु शेर्पा रहेका छन् । कार्यकारी निर्मातामा रमेश शाही ठकुरी, शिशिर पार्की छन् । प्रोजेक्ट एडभाइजरमा गजित विष्ट र सरिता गिरी छन् । प्रोडक्सन म्यानेजरमा सरोज श्रेष्ठ छन् ।
रामप्रसाद चौधरीको सम्पादन रहने फिल्ममा डीओपी संगम राईको रहनेछ । श्रीराम बालाजी फिम्सको वितरण रहने सिनेमाको पब्लिसिटी पार्टनरमा टौवा स्टुडियो रहेको छ ।







