काठमाडौं । नेपाल चलचित्र कलाकार संघले आफ्नो ३८औँ स्थापना दिवस मंगलबार चाबहिलस्थित चलचित्र विकास बोर्डमा सामाजिक सेवामूलक कार्यक्रमसहित मनाएको छ । स्थापना दिवसका अवसरमा संघले भोटेकोशी बाढीपीडितको सहयोगार्थ बृहत् रक्तदान तथा राहत संकलन कार्यक्रम आयोजना गरेको थियो ।
फिल्म क्षेत्रका कलाकार, प्राविधिक, फिल्मकर्मी तथा विभिन्न क्षेत्रका व्यक्तित्वहरूको सहभागितामा भएको रक्तदान कार्यक्रममा ८६ जनाले रक्तदान गरेका थिए । त्यस्तै, बाढीपीडितका लागि करिब चार लाख रुपैयाँ आर्थिक सहयोग संकलन भएको संघका अध्यक्ष उत्तम केसीले बताए । हर्के हल्दार टिमबाट एक लाख ३३ हजार ३३३ र कार्यसमिति सदस्य नवीन श्रेष्ठले एक लाख एक हजार सहित करिब चार लाख रुपैयाँ बराबरको राहत रकम संकलन भएको जनाइएको छ ।
कार्यक्रम चलचित्र विकास बोर्डको सहकार्य तथा मेट्रो ब्लड बैंकको प्राविधिक सहयोगमा सम्पन्न भएको थियो । दागान अर्गानिक टीले विशेष सहयोग गरेको कार्यक्रममा फिल्म अक्षरा टिम र ओम प्रिन्टको समेत सहयोग रहेको आयोजकले जनाएको छ ।
कार्यक्रममा नेपालकी प्रथम नायिका भुवन चन्दले सामाजिक सेवामूलक कार्यक्रमले फिल्म क्षेत्र र आम नागरिकबीचको सम्बन्ध थप मजबुत बनाएको बताइन् । उनले कलाकारहरू मनोरञ्जन क्षेत्रमा मात्र सीमित नभई विपद्का समयमा समाजसँगै उभिनुपर्ने धारणा व्यक्त गरिन् ।
संघका सल्लाहकार तथा पूर्व अध्यक्ष कृष्ण मल्लले संघका संस्थापक अध्यक्ष शान्ति मास्के तथा कलाकार संघको स्थापना, उद्देश्य र नेपाली फिल्म क्षेत्रमा संघले पुर्याउँदै आएको योगदानबारे प्रकाश पारेका थिए ।
संघका अध्यक्ष केसीले कलाकारको पेशागत अधिकारसँगै समाजप्रतिको दायित्वलाई पनि संघले प्राथमिकतामा राख्दै आएको बताए ।







