काठमाडौं । निर्देशक सौरभ चौधरीको फिल्म ‘द राइज अफ साम्राज्य’मा अभिनेता सुशील श्रेष्ठ जोडिएका छन् । छायांकनको अन्तिम तयारीमा रहेको फिल्ममा निर्देशक चौधरीले सुशीललाई अनुबन्ध गरेका हुन् ।
फिल्ममा सौगात मल्ल, दयाहाङ राई, नाजिर हुसेन, विजय बराल, अञ्जना बराइली र अमरप्रताप श्रेष्ठ अनुबन्ध भइसकेका छन् । निर्माण टिमले फिल्मको छायांकनका लागि ७० दिनको तालिका तयार पारेको छ । फिल्मको अधिकांश छायांकन पूर्वी नेपालका विभिन्न स्थानमा गरिनेछ ।
डार्क हर्स इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण हुन लागेको फिल्मको कथा तथा पटकथा उपन्यासकार बुद्धिसागरले लेखेका हुन् । फिल्मका निर्माता प्रवेश चौधरी र निला देव हुन् । विश्वास बस्नेत (बेन) को–प्रोडुसर तथा शंकर पाण्डे कार्यकारी निर्माता रहेका छन् ।
फिल्मको छायांकन मानकृष्ण महर्जनले गर्नेछन् भने एक्सन निर्देशनको जिम्मेवारी श्री श्रेष्ठले सम्हाल्नेछन् । फिल्मको वितरणको जिम्मेवारी डिसीएनले लिएको छ ।








