डिगो एपमा आयो लालीबजार

काठमाडौँ । गत वैशाख २५ गतेदेखि प्रदर्शनमा आएको नेपाली फिल्म ‘लालीबजार’ फूलपातीदेखि ओटीटी प्लेटफर्म डिगो एपमा आएको छ । आमा र छोरीको कथामार्फत शिक्षाको महत्वलाई प्रस्तुत गरिएको यो फिल्म ‘लालीबजार’ षट्कोण आट्र्सले निर्माण गरेको हो ।

नेपालबाहिर नेपाली बसोबास गर्ने सबै देशमा प्रदर्शन हुन नसकेको फिल्मलाई डिगो एपमार्फत विश्वभर रहेका नेपाली दर्शकमाझ पुर्‍याइएको निर्माता तथा कलाकार रविन्द्रसिंह बानियाँले बताए । ‘विविध कारणले हामीले फिल्मलाई विदेशमा धेरै स्थानमा प्रदर्शन गर्न सकेका थिएनौं । सोही कारण हामी ओटीटीमार्फत नेपालसँगै विदेशमा रहनुभएका नेपाली माँझ पस्केका छौँ । हामीलाई सामाजिक सञ्जालमार्फत

फिल्म प्रदर्शनबारे निरन्तर जिज्ञासा आइरहेको थियो । त्यसकारण फूलपातीदेखि डिगो एपमार्फत विश्वभर रहेका नेपालीमाझ फिल्म पुगेको छ, निर्माता बानियाँले भने ।

फिल्ममा स्वस्तिमा खड्का, रविन्द्रसिंह बानियाँ, समाइरा थापा, मुकुन्द श्रेष्ठ, अभय बराल, प्रेम पाण्डे, आशा पौडेल, गोविन्द सुनार, आभा अर्याल, तारा शर्मा, रमेश वादी, सरस्वती अधिकारी, जानकी कठायत, निश्चल पन्थी, विरवल चौधरीलगायतका कलाकारको अभिनय छ ।

यम थापाको कथा तथा निर्देशनमा तयार भएको फिल्मको पटकथा तथा संवाद निर्देशक थापा र प्रदीप भट्टराईले लेखेका हुन् । फिल्मका कार्यकारी निर्माता प्रदीप भट्टराई हुन् भने म्याक्स दीपेश खत्री र रविन्द्रसिंह बानियाँ निर्माता रहेका छन्।