काठमाडौं । फिल्म ‘कबड्डी ५ः आफ्टर द फाइनल म्याच’को अग्रिम टिकट बुकिङ खुला गरिएको छ । बुकिङ खुलेसँगै फिल्मले देशभरका मल्टीप्लेक्सदेखि सिंगल स्क्रिनसम्म उच्च शो पाउने देखिएको छ । हालसम्म फिल्मले देशको ठुलो मल्टीप्लेक्स चेन क्युएफएक्सले काठमाडौं उपत्यकामा २६ शो र मोफसलमा २० शो निकालेको छ ।
सुरुवाती चरणमा हालसम्म देशभर करिब १ सय बढि शो पाइसकेको छ । अझै धेरै हलमा शो खुल्नै बाँकी रहेकाले शुक्रबार बिहानसम्म २ सय बढि शोसहित प्रदर्शनमा आउने विश्वास वितरकको छ ।
फिल्म कात्तिक ६ गतेबाट प्रदर्शनमा आउनेछ । फिल्ममा दयाहाङ राई, विपीन कार्की, विजय बराल, बुद्धि तामाङ, रिश्मा गुरुङ, सिर्जना गुरुङ, पुस्कर गुरुङ, माओत्से गुरुङ, कमलमणि नेपाल, मिरुना मगर, कविता आले, अरुणा कार्की, शिशिर बाङ्देल, विष्णु मोक्तान, प्रमिला राई, सुरज यादव, रमेश बज्राचार्य, हरि मिजर, पञ्च सुब्बा गुरुङ, घनु जोशी, सुमित्रा पेहिम, अनुप न्यौपाने, मधु मिजार, हेमन्त बुढाथोकी, विक्रम श्रेष्ठ, सरोज अर्याल र शेखर चापागाईंको अभिनय रहेको छ ।
बासुरी फिल्म्सको प्रस्तुतिमा बनेको सिनेमामा निर्देशक गुरुङसहित मणिराम पोखरेल, मधु मिजार र विशाल गुरुङ (एलजी)ले लगानी गरेका छन् । सागर राज कार्यकारी निर्माता रहेको सिनेमामा कालीप्रसाद बास्कोटा, अधा सुर र झुमा लिम्बूको संगीत, सञ्जय लामाको छायांकन र सुरेन्द्र पौडेलको सम्पादन छ ।
रामबाबु गुरुङको लेखन तथा निर्देशनमा बनेको सिनेमाको मुख्य सहायक निर्देशकमा सोमनाथ खनाल र तारानाथ न्यौपाने छन् । नेपालमा सिनेमाको वितरण ब्यांकटेश इन्टरटेनमेन्ट एन्ड टी फल्कले गर्नेछ भने विदेशी वितरणतर्फ सेभेन सिज इन्टरनेसनल रहेको छ ।







