काठमाडौं । भारतीय गायिका कल्पना पटवारीको छठ गीत ‘करीले परबिया’ सार्वजनिक गरिएको छ । आउँदो छठ पर्वलाई लक्षित गर्दै तयार गरिएको भोजपुरी भाषाको छठ गीतमा मधेश प्रदेशका कलाकार र जनकपुरधामका धार्मिक स्थलहरू देख्न सकिन्छ । मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवको प्रमुख आतिथ्यतामा मंगलवार बेलुकी सार्वजनिक गरिएको गीतमा फिल्म निर्मात्री तथा समाजसेवी शर्मिला थापाको निर्माण छ ।
उडान इन्टरटेन्मेन्टको युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको गीत हेरेपछि मुख्यमन्त्री यादवले गीत र कलाकारहरूको प्रशंसा गरे । उनले मधेश प्रदेशमा यस स्तरको सम्भवतः पहिलो पटक यस्तो गीत निर्माण भएको दाबी गरे ।
गीतमा शिव साजनको शब्द तथा संगीत, शिशिर पाण्डेको संगीत संयोजन र अनिल बागीको मिक्सिङ तथा मास्टरिङ रहेको छ । सार्वजनिक गीतमा छठपर्व मनाउँदा श्रदालुले अपनाउने विधी, गर्ने पुजापाठलाई गीतको भिडिओमा प्रस्तुत गरिएको छ । जनकपुरधामको प्रसिद्ध जानकी मन्दिर, राजदेवी मन्दिर र ऐतिहासिक गंगासागर सरोवरमा छायांकन गरिएको छठी माताको यो गीतमा मधेश प्रदेशका कलाकारहरूले अभिनय गरेका छन् । यस गीतले मैथिली संस्कृति र छठी माताको महिमालाई उजागर गरेको छ ।
गीतको भिडियोमा शर्मिला थापा, निभा यादव, इन्जिनियर सिमरन साह, अमृता साह र सिमरन सोनीको अभिनय छ । कमलेश सिंह (काम ली)ले निर्देशन गरेको भिडियो उडान प्रोडक्सन्सले निर्माण गरेको हो।
उडान इन्टरटेनमेन्टका सञ्चालक एवं गीतकी मुख्य पात्र शर्मिला थापाले मिथिलाको धर्म, संस्कृति र परम्परालाई उजागर गर्न आफू सदैव लागिपरिरहने बताइन् । निर्मात्री थापाले अबको केही दिनपछि आफूहरूले निर्माण गरेको छोरीहरूप्रति समर्पित ‘मायाजाल’ नामक फिल्म रिलिज हुने जानकारी पनि दिइन् ।
उनले निर्माण गरेको नेपाली फिल्म ‘आशा’ आगामी माघे संक्रान्तिमा प्रदर्शन हुँदैछ । भिडियोको छायांकन साजन ठाकुरले गरेका हुन्। ड्रोन सञ्चालन सञ्जय कुशवाहाले गरेका छन् ।







