गुण सिनेमामा बाः एक योद्धाको ५१ औं दिन

काठमाडौं । फिल्म ‘बाः एक योद्धा’ प्रदर्शनको ५१ औँ दिनमा प्रवेश गरेको छ । गत असोज ९ गतेदेखि प्रदर्शनमा आएको फिल्मले ललितपुरको ग्वार्कोमा रहेको गुण सिनेमामा प्रदर्शनको ५१औँ दिन मनाएको हो । बक्सअफिसमा औसत व्यापार गरेको फिल्मले पब्लिक रिभ्यू राम्रो पाउँदा केही हलमा अझै प्रदर्शनरत छ ।

हरि लम्सालको निर्देशन रहेको फिल्मले हालसम्म ३ करोड ५६ लाख ८ हजार १८१ रुपैयाँ ग्रसकलेक्सन गरेको छ । पारिवारिक भावना, बुवाको त्याग र संघर्षलाई मुख्य विषय बनाएको यो फिल्मले सन्तानको भविष्य निर्माणका लागि अभिभावकले गर्ने समर्पण तथा वृद्धावस्थामा उनीहरूले भोग्नुपर्ने चुनौतीलाई कथामा प्रस्तुत गरेको छ ।

फिल्ममा दिव्यदेव, झरना थापा, सुहाना थापा, माओत्से गुरुङ, अनिल बुढाथोकी, सागर खनाल, शिशिर सिवाकोटी, सुप्रज्ञा शर्मा र शवि थापालगायतका कलाकारको अभिनय रहेको छ ।

आर्टिस्टिक इन्टरटेनमेन्टको ब्यानरमा निर्माण भएको हो । फिल्मका निर्माता वसन्त लम्साल हुन् भने अनिल बुढाथोकी कार्यकारी निर्माता रहेका छन् । अर्जुन पौडेल लाइन प्रोड्युसर तथा कृष्ण काफ्ले सह–निर्माताका रूपमा छन् ।