आत्मबलले जलाकीमा जोडिएका सोनाम

काठमाडौं । सन् २०२५ को जूनमा ढोरपाटनमा फिल्म ‘ऐरी’ को एक्सन दृश्य खिच्ने क्रममा कलाकार सोनाम तोप्देनको देब्रे खुट्टा भाँचियो । उनलाई तत्कालै हेलिकप्टरबाट पोखरास्थित चरक मेमोरियल अस्पताल ल्याइयो । चिकित्सकले कम्तीमा छ महिना पूर्ण आराम गर्न सल्लाह दिएपछि उनले अभिनय गर्ने निश्चित भएको फिल्म ‘जलाकी’ फुत्कियो ।

बैशाखीको सहारामा हिँडिरहँदा उनले आत्मबल भने गुमाएनन् । त्यसैको परिणाम स्वरुप उनले पुनः ‘जलाकी’मा जोडिने मौका पाए । सोनाम घाइते भएपछि निर्माण टिमले अभिनेता धीरज मगरलाई अनुबन्ध गरेको थियो । फिजियोथेरापीपछि स्वस्थ भएका सोनामलाई निर्देशक अशोक थापा मगरले ‘जलाकी’ मै सहायक भूमिकामा अनुबन्ध गरे । तर छायांकनको समय लम्बिँदै जाँदा सोनमको खुट्टा पनि पूर्ण रूपमा निको हुँदै गयो । त्यही ढिलाईको परिणाम सोनाम फिल्ममा प्रमुख भूमिकामा नै जोडिए ।

सोनाम फिल्म ‘जलाकी’मा ‘लाजिम’ को भूमिकामा दर्शकमाझ आउँदैछन् । फिल्म आगामी मंसिर ४ गते रिलिज हुँदैछ । ‘फिल्म ‘शाम्बाला’ मा मेरो अभिनय मन पराइएको कारण निर्देशक अशोक थापा मगरज्यूले मलाई ‘जलाकी’ को अफर गर्नुभएको थियो । बीचमा दुर्घटनाले मलाई टाढा पुर्‍याए पनि सायद यो कथा र पात्र मेरै भाग्यमा लेखिएको रहेछ, म फेरि फर्किएँ,’ उनी भन्छन् ।

भारतको मनालीमा जन्मिएका सोनामले बाल्यकालका नौ वर्ष गुम्बामा बिताए । पारिवारिक जिम्मेवारीका कारण १० वर्षको उमेरमा उनले सांसारिक जीवन रोजेका थिए । विसं २०७२ सालको भूकम्पपछि ‘स्म्युल’ एपमा विभिन्न गीतका कभर गाएर सोनम चर्चामा आएका थिए । उनले ‘हवायें’, ‘जीना जीना’, ‘दिल दियाँ गलाँ’, ‘फिर भी तुमको चाहुँगा’ र ‘मिले हो तुम’ जस्ता हिन्दी गीतका कभर गाएर श्रोताको मन जिते ।

त्यसपछि नेपाली गीत ‘तिमी मेरो भविष्य’सहित ‘ता सेर्पो’, ‘छोए डाङ्पा’, ‘छाम्गोन ताई सितुपा’, ‘कुत्से तेन’ जस्ता तिब्बती र भुटानी गीतमार्फत पनि उनले आफ्नो सांगीतिक पहिचान फराकिलो बनाए । यही सांगीतिक यात्राकै क्रममा उनले फिल्म ‘सम्हालिन्छ कहिले मन’ बाट नेपाली फिल्मको अभिनय यात्रा सुरु गरे ।

‘जलाकी मगर समुदायको संस्कृति, परम्परा र परिवेशमा जरा गाडेको एक अर्गानिक प्रेमकथा हो । मगर संस्कृतिमा माया र सम्झनाको प्रतीक मानिने ढुंगाको स्तम्भ ‘जलाकी’ जस्तै यो सिनेमाले पनि दर्शकको मनमा गहिरो सम्झना छोड्नेछ,’ उनले भने । फिल्ममा उनी उपासना सिंह ठकुरीको प्रेमीको भूमिकामा छन् ।