माघे संक्रान्तिमा फ्रेन्च किस

काठमाडौं । फिल्म ‘फ्रेन्च किस’ आगामी माघ १ गते अर्थात माघे संक्रान्तिमा रिलिज हुने भएको छ । फिल्मले आइतबार टिजर सार्वजनिक गर्दै रिलिज मिति पनि बाहिर ल्याएको हो । ओएसआर डिजिटलमार्फत टिजरमामा काठमाडौंका सुन्दर ठाउँदेखि तालसम्म हात समाएर घुम्ने जोडीको कथा देखाइएको छ ।

टिजरमा एकान्तमा बसेर किस गर्ने, होटेलमा पसेर जवानी साट्ने गरेको देखाइएको छ । यो खुशीको माहोलबीच उनीहरुको सम्बन्धमा चिसोपन आएको पनि देखाइएको छ । टिजरमा अर्पण थापा र थिन्ले ल्हामो मात्रै छन् ।

अर्पणकै निर्देशन रहेको फिल्ममा रेखा थापा, गौरी मल्ल, आयशा तामाङलगायत कलाकारको पनि अभिनय छ । फिल्मको कथा पनि निर्देशक स्वयंको छ ।

एटीएफ प्रोडक्सन प्रा।लि।को ब्यानरमा निर्माण भएको फिल्मको कार्यकारी निर्मातामा सौगात बस्नेत र सह–निर्मातामा सुभाष बी शाही छन् । फिल्मका छायाँकार सुदीप बराल हुन् । फिल्ममा गायक तथा संगीतकार दीपक बज्राचार्यको संगीत छ ।