कर्माः लुटमा बैंक लुटे, हिमालयन गोल्डमा यार्सागुम्बा

काठमाडौं । अभिनेता कर्मा आगामी मंसिर ४ गतेबाट रिलिज हुने फिल्म ‘हिमालयन गोल्ड’मा ‘प्रकाश’ नामक खलपात्रको भूमिकामा देखिँदैछन् । फिल्ममा कमैमात्र खलपात्रमा देखिने गरेका कर्मा ‘हिमालयन गोल्ड’को खलपात्र भने फरक किसिमको रहेको बताउँछन् ।

कर्मा फिल्ममा आफ्नो चरित्र नेगेटिभ सेडको रहेको बताउँछन् । ‘पहिलाको चलनचल्तीको भाषामा भन्नुपर्दा गुण्डाको छ । मेरो क्यारेक्टरले परिस्थिति अनुसार यार्सागुम्बा लुट्नेदेखि लिएर यताउता गर्ने काम गर्छ । यो भन्दा अगाडि लुटमा पनि बैंक लुट्ने क्यारेक्टर थियो । मान्छेहरु एउटा पात्रले किन त्यस्तो काम गर्छ भनेर प्रश्न गर्छन् । तर त्यो काम भनेको परिस्थिति अनुसार हुँदै जाने हो नि,’ उनी भन्छन् ।
फिल्ममा धिराज राजवंशीको निर्देशन छ । ‘यसको स्क्रिप्ट, मसँगै अन्य पात्रहरु, सबै कुराहरु नै पृथक छ । मैले गर्न खोजिरहेको फिल्महरुमध्ये ‘हिमालयन गोल्ड’ पनि एक हो । किनकी यसको कथावस्तु, प्रेजेन्टेसन पनि पृथक छ’, उनी भन्छन् ।

कर्माले यसअघि धिराजको बुवासँग फिल्म ‘शेरबहादुर’मा सहकार्य गरेका रहेछन् । निर्देशक धिराजले आफूलाई कथा सुनाउँदा त्यसलाई कसरी प्रस्तुत गर्ने भन्ने कुरा पनि बताएकोले फिल्ममा काम गर्न सजिलो भएको बताए ।

कर्मा ‘हिमालयन गोल्ड’ भन्दा अघि पनि मुस्ताङ, डोल्पा पुगेका रहेछन् । ‘त्यतिबेला म प्रत्यक्ष रुपमा यार्सागुम्बा टिप्ने ठाउँसम्म नै पुगेको त थिइनँ । तर पुग्ने मानिसहरुसँग मैले घुलमिल गरेको थिएँ । ९० को दशक पछि नै यार्सागुम्बा विश्वबजारमा फैलन थालेको हो । यो सिजनमा टिप्ने बेलामा म डोल्पामै हुँदा खेरी पनि स्कुल बन्द गरेर बच्चाबच्चा लिएर ठूलो समूह यार्सागुम्बा टिप्न गएको देखेको छु । बच्चाहरुलाई लिएर जाने कारण चाहिँ बच्चाको आँखा तेजिलो हुन्छ भन्ने रहेछ । जसकारण स–साना यार्सागुम्बाहरु पनि टिप्न सजिलो हुँदो रहेछ’,कर्माले भने, ‘मैले स्थानीयसँग कुरा गर्दा पहिला पहिला लुटपाट र झगडा पनि हुन्थ्यो रे । अहिले अलिक व्यवस्थित छ । नेपाली सेनाहरु यार्सागुम्बा टिप्नुभन्दा अगाडि नै लेकमा पुगिसकेका हुन्छन् । मान्छेको समूह अनुसार यार्सागुम्बा टिप्ने डाँडा छुट्याइएको हुन्छ । पोखरा, काठमाडौं, सुर्खेतबाट आएका मान्छेहरुले यार्सागुम्बा टिप्नका लागि टिकट लिन्छन् । यहाँबाट आएका कति मान्छेहरु लेक लागेर बिरामी भएको पनि देखेको छु ।’

कर्माको अनुभवमा मुस्ताङको लोकेसन नै यो फिल्मको सुटिङका लागि चुनौति थियो । ‘ट्रेलरमा देखाइएको जुन गुफामा हामीले सुट गरेका छौं । त्यो चाहिँ हाइ अल्टिच्युडमा थियो । त्यति उच्च स्थानमा रहेको गुफामा सुटिङ गर्नु आफैंमा चुनौति थियो । त्यहाँ धुलो उड्नेदेखि अक्सिजन नपुग्नेसम्मका चुनौति थिए । त्यस्ता चुनौतिका बाबजुद पनि सुटिङ गर्यौं । हामीले त्यो गुफामा झण्डै पाँच दिन लगाएर एक्सन दृश्य सुट गर्यौं’, उनले सम्झिए ।

कर्मा अगाडि भन्छन्, ‘अझ रोचक कुरा त के भने यो फिल्ममा गीत नै छैन । गीत बिनाको कथात्मक फिल्म हेर्न चाहनेका लागि हिमालयन गोल्ड उपर्युक्त फिल्म बनेको छ’, उनी भन्छन् ।

ह्वाइट एलिफेन्ट मोसन पिक्चर प्रोडक्सनको ब्यानरमा निर्माण भएको फिल्ममा कर्मा शाक्यसँगै परीक्षा लिम्बु, सुनिल थापा, मेनुका प्रधान, राहुल एन। मुखिया, अङ्कित खड्का, सुनिल तामाङ, तेन्जिङ ठकुरी, सविता अधिकारी र ऋषिकेश बस्यालको पनि अभिनय रहेको छ । यो फिल्मका निर्माता मीनबहादुर भाम, लाइन प्रोड्युसर शैलेन्द डी। कार्की, सह–निर्माता सुयश ज्ञवाली र कायकारी निर्माता राजु राजवंशी रहेका छन् ।