दर्शक भेटेर काठमाडौं फर्कियो बाटुलो जून

काठमाडौं । पश्चिम नेपालका दर्शकलार्य एक सातासम्म भेटेर फिल्म ‘बाटुलो जुन’को टिम काठमाडौं फर्किएको छ । फिल्मका निर्देशक भुवन केसी, नायक अनमोल केसी र नायिका प्रिन्सी खतिवडासहितको टिम पश्चिम नेपालका विभिन्न शहरमा पुगेर दर्शक भेटघाट गरेर काठमाडौं आइपुगेका हुन् ।

दाङबाट सुरु भएको दर्शक भेटघाट कार्यक्रम नेपालगञ्ज, धनगढी, चितवन र पोखरासम्म चलेको थियो । यसअघि फिल्म ‘जेरीः अन टप’का लागि नायक अनमोल केसी दाङ र नेपालगञ्ज पुगेका थिए ।

अनमोल आएको थाहा पाएपछि उनलाई भेट्न दर्शकहरु बिहानै हलमा उपस्थित भएका थिए । पश्चिम नेपालका अधिकांश हलमा यो फिल्मले व्यापार राम्रो छ । अनमोलसँग तस्वीर खिचाउन दर्शकको भीड लागेको थियो ।

फिल्मका निर्देशक तथा नायक भुवन केसीलाई भेट्न पाउँदा पनि दर्शक निकै उत्साहित देखिएका थिए । पहिलो फिल्ममै नायिका प्रिन्सी खतिवडाले दर्शकको उच्च साथ पाइन् । प्रिन्सीलाई दर्शकले ‘माउसुली, छत्कुल्ली’ लगाएका नामले बोलाएका थिए ।

यो फिल्मले ११ दिनमा बक्स अफिसमा ८ करोड ३५ लाख भन्दा बढीको ग्रस कलेक्शन गरिसकेको छ ।जिया केसी र भविष्य खड्काको निर्माणमा विवेक थापा सह–निर्माता रहेको फिल्मको कथा सामिप्यराज तिमिल्सिना र सरिन पोखरेलले मिलेर लेखेका हुन् । फिल्ममा राजेश श्रेष्ठको छायांकन, युग भुसाल र एस।डी योगीको संगीत छ ।