काठमाडौं । नेपाली हास्यप्रधान फिल्म ‘ककाकिकी’ले मंगलबार साँझ काठमाडौंमा प्रिमियर गरेको छ। बिग मुभिजमा आयोजित प्रिमियरमा फिल्मका कलाकार तथा निर्माण टिमसँगै नेपाली फिल्म क्षेत्रका कलाकार, निर्देशक, निर्माता र फिल्मकर्मीको बाक्लो उपस्थिति थियो।
फिल्म हेरिसकेपछि अधिकांशले यसको प्रस्तुतीकरण, कथावस्तु र मनोरञ्जनात्मक पक्षको प्रशंसा गरेका थिए। फिल्मका निर्देशकद्वय बिक्की अग्रवाल र श्रद्धा प्रसाईंले फिल्ममा प्रस्तुत गरेको फरकपन र मेहनतको तारिफ भएको थियो। कमेडी जनरामा निर्माण भएको फिल्म हेर्दा हलमा दर्शकको हाँसोका फोहोरा छुटेका थिए।
कलाकार मदनकृष्ण श्रेष्ठ, शिव श्रेष्ठ, बसुन्धरा भुसाल, चैत्यदेवी, राजाराम पौडेल, किरण केसी, निर्देशक तथा निर्माता मिलन चाम्स, आकाश अधिकारी, अशोक शर्मा, शोभित बस्नेत, जयकिशन बस्नेत, विल्सन विक्रम राई तथा गायक शिव परियारलगायतले फिल्मप्रति सकारात्मक प्रतिक्रिया दिएका थिए।
निर्देशक बिक्की अग्रवालले फिल्मकर्मीबाट प्राप्त प्रतिक्रियाले आफूहरूलाई खुसी मिलेको बताए। उनले आफ्नो टिमले फिल्म निर्माणमा निकै मेहनत गरेको उल्लेख गर्दै उनले अब फिल्म दर्शकको हातमा सुम्पिने समय आएको बताए।
फिल्मका कलाकार तृप्ति नाडकर, गौरी मल्ल, रेखा थापा र महेश त्रिपाठीलगायतले पनि प्रिमियरमा फिल्मकर्मीबाट प्राप्त प्रतिक्रियाले उत्साहित बनाएको बताए ।
यसैबीच फिल्मलाई केन्द्रीय चलचित्र जाँच समिति (सेन्सर बोर्ड)ले युनिभर्सल सर्टिफिकेट प्रदान गरेको छ। योसँगै अब फिल्म सबै उमेर समूहका दर्शकले हेर्न पाउने भएका छन्।
फिल्ममा तृप्ति नाडकर, गौरी मल्ल, रेखा थापा, महेश त्रिपाठी, शिशिर वाङ्देल, दिया मास्के, मनोज गजुरेल, प्रकाश घिमिरे, माउत्से गुरुङ, सुवास गजुरेल, रेअर राई, खड्गबहादुर पुन मगर (खबपु), पवन खतिवडा (म्याकुरी), मुकुन्द मैनाली, रामबाबु रेग्मी, सीडी विजय अधिकारी, सरोज भण्डारी, सुजना श्रेष्ठ, विश्वास तिमल्सिना (बीटी कान्छा), एलिसा भोग, सुवर्ण थापा र कमल देवकोटालगायत कलाकारको अभिनय रहेको छ। फिल्मका निर्माता श्रद्धा प्रसाईं र सुमित्रा थापा हुन्।







