काठमाडौं । लोक गायिका इन्दिरा गोले एकल साँझमार्फत दर्शकलाई आफ्ना चर्चित गीत सुनाउने भएकी छन् । हिमालयन इन्टरटेनमेन्ट ग्रुपले गायिका गोलेको सम्मानार्थ आगामी फागुन २६ गते आयोजना गर्न लागेको ‘इन्दिरा गोले एकल सांगीतिक साँझ’मा उनी डेढ दर्जन गीतमा सुनिन लागेकी हुन् ।
आयोजकले मंगलबार राजधानीमा पत्रकार सम्मेलन गर्दै नेपालको कार्यक्रम पछि इन्दिराले युरोपका विभिन्न सहरमा गीत सुनाउने जानकारी दियो । ग्रुपका अध्यक्ष सुवास पाख्रिन लामाले आउँदो ल्होछारमा युरोप यात्राको मिति तय भएको जानकारी दिए । ‘नेपालको कार्यक्रमपछि गायिका इन्दिराले यूरोपको स्विजरल्याण्ड, बेल्जियम, पोर्चुगललगायत विभिन्न सहरमा कार्यक्रम गर्नुहुनेछ ।’ उनले भने ।
ग्रामीण परिवेशमा प्रचलित विभिन्न जात्रा र बजारमा गीत गाउँदै सांगीतिक क्षेत्रमा होमिएकी इन्दिराले पूर्व मेचीदेखि पश्चिम महकालीसम्मका विविध भाषा र भाकामा २०४५ सालदेखि सयौं संख्यामा गीत गाइसकेकी छन् । उनका ‘चाँगुनारानथान’, ‘बेशी झरन’, ‘जाइफूलको बासना’, ‘घर त छाउनीमा’, ‘डमडम’, ‘ए होइ ज्यानै खायो’, ‘छालाले मोरेको’, ‘सफा ट्याम्पुरी’, ‘आपा त गाङदान’लगायतका गीत चर्चित छन् ।
पिता जितबहादुर गोले र माता प्रेममाया लोप्चनको सन्तान इन्दिराले नेपालका विभिन्न जिल्लासँगै विदेशमा जापान, हङकङ, अष्ट्रेलिया, कोरिया, मलेसिया, कुवेत, कतार, बहराइनलगायतका मुलुकमा आफ्नो प्रस्तुति दिइसकेकी छन् ।