काठमाडौं । इलाम घुम्न जाने जोकोही व्यक्ति पनि इलामको सुन्दरतामा मख्खै पर्छन् । उनीहरु इलामको सुन्दरताको बखान गरिरहन्छन् । तर बालकलाकार अनुभव रेग्मी भने यो मामलामा अलिक फरक देखिएका छन् । फिल्म ‘नाइ नभन्नु ल ५’को सुटिङमा केही समय अघि इलाम पुगेका अनुभव इलामको सुन्दरता भन्दा पनि अर्की नयाँ कलाकार सेड्रिना शर्माको सुन्दरतामा मोहित बनेका छन् ।
आगामी भदौ ८ गते रिलिज हुने फिल्मको मंगलबार राजधानीमा ट्रेलर सार्वजनिक गरियो । सार्वजनिक ट्रेलरमा अनुभवलाई सेड्रिनालाई ‘तिमीलाई इलाममा के मनपर्छ ?’ भनी सोध्दा अनुभवले ‘मलाई इलाम भन्दा तिमी मनपर्छ’ भन्ने जवाफ दिएका छन् ।
वन टाइम सिनेमाको व्यानरमा विकास आचार्यको निर्माण तथा निर्देशनमा बनेको फिल्ममा निरुता सिंह, दिलिप रायमाझी, प्रियंका कार्की, केकी अधिकारी, स्वस्तिमा खड्का, अभिषेक नेपाल, अनुभव रेग्मी र स्याड्रिना शर्माको अभिनय छ । ट्रेलरमा स्वस्तिमा र अभिषेकको प्रेमदेखि कलाकारहरुको रोनाधोनालाई देखाइएको छ ।
फिल्ममा बसन्त सापकोटाको संगीत, पुरुषोत्तम प्रधानको छायांकन, अर्जुन जीसीको सम्पादन, कविराज गहतराजको कोरियोग्राफी, सामिप्यराज तिमिल्सिना र विकासराज आचार्यको लेखन छ । फिल्ममा हरिबोल भण्डारी र गौरीराज जोशीको पनि लगानी छ ।