नेपालभाषा सर्ट फिल्ममा हाःसः मदुगु उत्कृष्ट

काठमाडौं । अमेरिकास्थित जनकवि दुर्गालाल श्रेष्ठ प्रतिष्ठानको तत्वावधानमा नेपालभाषा चीहाः संकिपा नखः(शर्ट फिल्म फेस्टिभल)ने.सं.११३८ले आयोजना गरेको ’नेपाल भाषा सर्ट फिल्म फेस्टिभल’मा निर्देशक सुनिता राजभण्डारीको ‘हाःसः मदुगु (आवाजविहिन आवाज)’ पहिलो भएको छ । राजधानीमा गत बिहीबार आयोजित कार्यक्रममा फेस्टिभलमा सहभागी १० फिल्म प्रदर्शन गरिएको थियो । पुरस्कृतलाई मानवअधिकारवादी नेता एवं आदिवासी आन्दोलनका अग्रज पदमरत्न तुलाधरले पुरस्कार प्रदान गरेका थिए ।

प्रथम पटक आयोजित फेस्टिभलमा पहिलो फिल्मले ७५ हजार रुपैंया पाउँदा दोस्रो बनेको निर्देशक दर्शनबीर शाक्यको ‘द मिथ जिरो’ले ५० हजार र तेस्रो बनेको निर्देशक रामकृष्ण खडगीको ‘अस्तित्व’ र पोखरेली फिल्मकर्मी यादवदास भोछीभोय्को ‘भकुंग्वारा ख्वाः ( भकुण्डे भुत)’ ले २५ हजार रुपैंयाँ पाएको थियो । कार्यक्रममा आयोजक समितिका सदस्य साहित्यकार एवं सञ्चारकर्मी सुरेशकिरण मानन्धरले आगामी वर्षको फेस्टिभलमा नेपालभाषामा प्रकाशित साहित्यिक कृतिमा आधारित लघु फिल्मबीच प्रतिस्पर्धा गराउने घोषणा गरे ।

यो वर्ष राकेश महर्जनको ‘म्हसीका (पहिचान)’, हर्के माइलाको ‘मांभाय् (मातृभाषा)’, कमलरत्न तुलाधरको ‘यांभाय् (दुर भाषा)’, सुरेन्द्र मानन्धरको ‘नेवाः झी नेवाः हे जुइ (नेवार हामी नेवार नै हौं)’, प्रज्वल शाक्यको ‘स्वचेतना’ र पवन जोशीको ‘लिच्वः(परिणाम)’ पनि सहभागी थिए । कार्यक्रममा सहभागी फिल्मलाई जनही पाँच हजार रुपैंया प्रोत्साहन स्वरुप प्रदान गरिएको थियो ।