युरोपका ११ देशमा प्रसाद

काठमाडौं । आगामी मंसिर २१ बाट नेपालमा रिलिज हुने फिल्म ‘प्रसाद’ युरोपका ११ देशमा प्रदर्शन हुने निश्चित भएको छ । युरोपका लागि फिल्म वितरणको अधिकार लिएका सुरज कार्कीका अनुसार थप केही देशमा फिल्म प्रदर्शनका लागि कुराकानी भइरहेको छ ।

सुरजले निश्चल बस्नेतको क्रेज, फिल्मको गीत र विपिन कार्कीको अभिनयका कारण पनि फिल्मको माग बढेको बताए । ‘हामीले युरोपमा विपिनजीको फिल्म नाका देखाउँदा त्यो फिल्म हेर्न विदेशीहरु पनि आएका थिए । उनीहरुको आगमनले हामीलाई नयाँ प्रोत्साहन मिलेको छ ।’ उनले भने ।

सुरजका अनुसार डेनमार्क, पोल्याण्ड, माल्टा, जर्मनी, फिनल्याण्ड, अष्ट्रिया, पोर्चुगल र नर्वेमा फिल्म प्रदर्शनको लागि फाइनल भइसकेको छ । फिल्ममा सब टाइटल पनि राखिने भएकाले विदेशी दर्शकका लागि नेपाली फिल्म पनि मनोरञ्जनको राम्रो खुराक रहेको उनले दाबी गरे ।

सुभाष थापाको निर्माण तथा दिनेश राउतको निर्देशन रहेको फिल्ममा नम्रता श्रेष्ठ, विपिन कार्की र निर्देशक तथा अभिनेता निश्चल बस्नेतको अभिनय छ । फिल्मले निसन्तान विवाहित दम्पतिको कथा प्रस्तुत गर्दछ ।

फिल्ममा पत्रकार सुशील पौडेलको कथा, राजेश श्रेष्ठको छायांकन, लोकेश बज्रचार्यको सम्पादन, सुवाष र कोशिष क्षेत्रीको संगीत, फिल्ममा हिमाल केसीको थ्रिल, शिव विकको कोरियोग्राफी रहेको छ । फिल्ममा विकास सुवेदी सह निर्देशकका रुपमा रहेका छन् ।