मुम्बई(एजेन्सी) । फिल्म ‘बाहुबली’की अभिनेत्री अनुष्का शेट्टीको फिल्म ‘साइलेन्स’को मार्चबाट सुटिङ हुने कुरा थियो । फिल्ममा उनी आर. माधवनसँग रोमान्स गर्ने चर्चा पनि थियो । तर अब भने उनको विषयमा नयाँ समाचार आएको छ ।
समाचार अनुसार अनुष्काले फिल्मी करियरबाट पूर्णविराम लगाउने निर्णय लिएकी छन् । अनुष्का पछिल्लो एक वर्षदेखि फिल्ममा नदेखिनुले पनि उनले फिल्म छोड्न लागेको पुष्टि भएको हो । निर्माता तथा लेखक कोण वेंकटको फिल्मको नाम नलिने हो भने उनले योबाहेक अन्य कुनै पनि फिल्ममा अभिनयको अवसर पाएकी छैनन् ।
समाचार अनुसार उनले अबको केही समय घुमघाममा बिताउनेछिन् । अनुष्काको विवाहको चर्चा चलिरहेकाले पनि उनले फिल्म क्षेत्र छोड्ने अनुमान लगाइएको छ । अनुष्काको नाम बाहुबली अभिनेता प्रभाससँग जोडिए पनि प्रभासले यो कुरा अस्वीकार गर्दै आएका छन् ।