समाजसेवामा मिलनका पाइला

काठमाडौं । पाश्र्व र आधुनिक गायनमा रुचाइएकी गायिका मिलन नेवारले समाजसेवामा पाइला चालेकी छन् । राजधानीमा शुक्रबार सांगीतिक करियरको चौंथो एल्बम ‘मिलन यात्रा’ र पाचौं एल्बममा समावेश ‘मन रेशम’ बोलको गीत तथा भिडियो सार्वजनिक कार्यक्रममा उनले ‘मिलन च्यारिटी फाउण्डेसन’को घोषणा गरेकी हुन् ।

मिलनले ‘सिंिगङ फर सोसाइटी’ भन्ने उद्देश्यसहित फाउण्डेसनको सुरुवात गरेको बताइन् । ‘म आफ्नो सांगीतिक प्रस्तुति र सामाग्रीबाट आउने रकमको केही अंश समाजसेवामा खर्चनेछु । प्रारम्भिक चरणमा आफ्नो सहायता सहिद स्मृति आवासिय माध्यमिक विद्यालय इटहरीमा केन्द्रित गर्नेछु’, उनले भनिन् । एल्बम सार्वजनिक गर्दै गृहमन्त्री रामबहादुर थापाले आफु पनि नेपाली गीत–संगीतको पारखी भएको बताए । उनले नेपाली कला र संस्कृतिको क्षेत्रमा प्राप्त उपलब्धिको रक्षा गर्दै अगाडि बढ्नु पर्नेमा जोड दिए ।

थापालाई एल्बम लोकार्पणमा गायक दीप श्रेष्ठ, गीतकार राजेन्द्र थापा, संगीतकार शक्ति बल्लभ, गायिका मिलनका माता–पितालगायत अन्य अतिथिहरूले साथ दिएका थिए ।

एल्बममा कुल सात गीत समावेश छन् जसमा योगेन्द्रमणि दाहालको एकल शब्द र राजु सिंहको एकल संगीत रहेको छ । सार्वजनिक ‘मन रेशम’ भिडियोमा गायिका मिलन र गायक कमल क्षेत्री फिचर्ड छन् । गीतमा क्षेत्रीको पनि स्वर छ । भिडियोमा हरि हुमागाईको छायांकन र राजेश पुमा राईको निर्देशन छ ।