काठमाडौं । नेपाली हरर फिल्म ‘कठपुतली’को फस्टलुक सार्वजनिक भएको छ । फिल्मको रिलिज मिति सार्वजनिक नगरीकन फिल्म निर्माण युनिटले पोस्टर बाहिर ल्याएको हो ।फिल्मले कुनै कालखण्डमा एक राज्यमा शासन गर्ने राजाको दरबार भित्रको सेरोफेरोमा आधारित कथालाई देखाउनेछ । देशका प्रजा परिश्रमी भएपनि शासक निरंकुश भएपछि त्यसको बद्ला जनताले कसरी लिन्छन् भन्ने कथा रहेको फिल्ममा रहेको लेखक तथा कार्यकारी निर्माता सम्पदा मल्लले बताईन् । उनका अनुसार यो फिल्म हरर भएता पनि पूर्णतया मौलिक रहेको छ ।
अर्का निर्माता पृथ्वी राना मगरले आम दर्शकले हेर्दै आएको फिल्मभन्दा आफ्नो फिल्म फरक रहेको बताए । यसअघि दुई फिल्महरू ‘परेनी माया जालैमा’ र ‘हंगामा’ निर्माण तथा निर्देशन गरेका राना मगरले अलग बिषयमा व्यावसायिक फिल्म बनाउने सोच अनुसार ‘कठपुतली’ बनाएको बताए । फिल्ममा भीमसेन लामाको निर्देशन छ । फिल्ममा गौरी मल्ल, मिथिला शर्मा, कर्मा, शिल्पा माष्के, उषा रजक, सुबर्ण थापा लगायतका अन्य कलाकारहरुको प्रमूख अभिनय रहेको छ ।
फिल्ममा जोएल फ्रुमको डीओपी छ । पृथ्वी राना प्रोडक्शनको ब्यानरमा बनेको फिल्मका निर्मातामा पृथ्बी राना मगर र ईश्वर राई हुन् । सह निर्माताहरु माईक अर्याल, बिशाल गुरुङ्ग, धर्म श्रेष्ठ र हेम थापा हुन् । यो चलचित्र यसै बर्ष रिलीज हुने निर्माण पक्षले जनाएको छ ।