काठमाडौं । आगामी जेठ १७ गतेबाट रिलिज हुने फिल्म ‘कुम्भ करण’ले फिल्म सेन्सर बोर्डबाट ‘पीजि’ सर्टिफिकेट पाएको छ । रोमान्टिक, सस्पेन्स र कमेडी विषय समेटिएको फिल्मले मंगलबार बोर्डबाट यो सर्टिफिकेट पाएको हो । यो सर्टिफिकेट पाएको फिल्म हेर्न जान चाहने १६ वर्षमूनिका बालबालिकाले अभिभावकका साथमा जानुपर्ने हुन्छ ।
फिल्ममा गौरव पहाडी, निशा अधिकारी, भोलाराज सापकोटा, अभय बराल, आकाश पल, कूलदीप अधिकारी, कमल गाउँले, प्रतिभा क्षेत्री, सदभाव थापालगायतका कलाकारको पनि अभिनय रहेको छ । दीपक ओली निर्देशित फिल्म आकाश पल इन्टरटेनमेन्टको ब्यानरमा निर्माण भएको हो ।
फिल्ममा चित्रबहादुर घर्तीमगर र क्षितिज बस्नेतको लगानी रहेको छ । महेश दवाडीको कथा र पटकथा तथा संवाद रहेको फिल्ममा हरि घले लामाको छायाँकन रहेको छ भने उक्त फिल्मका सम्पादक मिलन श्रेष्ठ हुन् । फिल्मका वितरक करण क्रेजी हुन् ।