नीताको मायामा बाँधिए कोशिस

काठमाडौं । नायिका नीता ढुंगानाको होम प्रोडक्सन नीता फिल्मस्को व्यानरबाट निर्माण हुने फिल्म ‘माया’मा प्रमुख कलाकारका रुपमा कोशिस क्षेत्री फाइनल भएका छन् । केहि हप्ता पहिले ‘मःम हन्टिङ’ नाममा फिल्म बन्ने चर्चाका बीच नीता उक्त शिर्षकलाई थाती राख्दै नयाँ फिल्मको स्कृप्टमा जुटेकी छिन् ।

नयाँ फिल्म ‘माया’को निर्देशन समुन्द्र भट्टले गर्नेछिन् । फिल्ममा कोशिसको अपोजिटमा नीता नै रहनेछिन् । आफ्नै कथा रहने फिल्मको स्कृप्टलाई अन्तिम रुप दिन कोशिस व्यस्त छन् भने फिल्मको स्कृनप्ले र संवाद लेखनमा कोशिसलाई निर्देशक भट्टले सघाउँदैछिन् । फिल्ममा संगीत पनि कोशिसको नै रहनेछ ।

यो फिल्मलाई सिक्किम कालिङपोङ लगायतका ठाउँमा छायाँकन गरिने निर्देशक भट्टले बताइन् । केहि बर्ष पहिले फिल्म ’आधा पेज’ बाट एक्सन कटमा डेब्यू गरेकी युवा निर्देशक समुन्द्र यो बीचमा क्यानडाको टोरन्टो फिल्म स्कुलबाट निर्देशन कक्षा लिएर नेपाल फर्केकी हुन् ।