काठमाडौं । नेपाली फिल्मकी प्रथम नायिका भुवन थापा चन्दले निर्माण गरेको फिल्म साईनोले हलमा दर्शकलाई राम्रैसँग तान्न थालेको छ । पहिलो दिनको तुलनामा साइनोले दोस्रो दिन निकै राम्रो व्यापार गरेको छ । फिल्म शुक्रबारबाट रिलिज भएको हो ।
काठमाडौं उपत्यकाका गोपीकृष्ण चाबहिल, अष्टनारायण बालाजु, गुण सिनेमा ग्वार्को तथा अन्य मल्टिप्लेक्स हलमा समेत साइनोले राम्रो व्यापार गरेको छ । पछिल्लो समयमा नेपाली सिनेमा हेर्न दर्शक हलसम्म पुग्न कठिन भइरहेको अवस्थामा साइनो हेर्न राम्रै दर्शक उपस्थित भएपछि साइनोलाई निकै राहत मिलेको छ ।
उपत्यका बाहिरका चितवन, नेपालगन्ज, बुटवल, धरान, पोखरा, दमक, बिर्तामोड लगायतका स्थानमा पनि साइनोले राम्रो व्यापार गरेको छ । डिष्ट्रिब्युटर ब्यांकेटसका अनुसार साइनोको व्यापार उत्साहजनक छ ।
यसअघि फिल्म साइनो हेर्न पुगेका उपप्रधान तथा रक्षामन्त्री इश्वर पोखरेल, फिल्म विकास बोर्डका अध्यक्ष केशब भट्टराई लगायतले पनि फिल्म राम्रो बनेको प्रतिक्रिया दिएका थिए । चन्द्र बिनायक फिल्मस् प्रोडक्सनको ब्यानरमा रमेश थापाद्धारा निर्देशित फिल्म साइनोमा राज कुमार, मिरुना मगर, निता ढुंगाना, भुवन थापा चन्द, बसुन्धरा भुषाल, मदनदास श्रेष्ठ, रोयदीप श्रेष्ठ लगायतका अन्य कलाकारहरुको अभिनय छ । शरण थापा कार्यकारी निर्माता रहेको फिल्म साइनोलाई अभिमन्यु निरबीले लेखेका छन् ।