रिलिज अघि नै साहोको कमाई ३ सय २० करोड

मुम्बई(एजेन्सी) । दक्षिण भारतीय फिल्मका सुपरस्टार प्रभास रिलिज हुन लागेको फिल्म ‘साहो’लाई लिएर निकै चर्चामा छन् । यो फिल्ममा उनीसँगै बलिउडकी चर्चित नायिका श्रद्धा कपुरको पनि अभिनय छ । फिल्मको ट्रेलर सामाजिक सञ्जालमा खुबै छाएको छ भने फिल्मका दुई गीत ‘साइको सैंया’ र ‘इन्नी सोनी’ पनि सामाजिक सञ्जालमा भाइरल भइरहेका छन् ।

यो फिल्मले रिलिज अघि नै ३ सय २० करोडको कमाई गरिसकेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । एक्सन इन्टरटेनर फिल्मको सेटलाइट राइट्सवापत यति ठूलो रकम हात परेको हो । सुजितद्वारा निर्देशित फिल्म अगस्ट ३० मा तेलुगु, हिन्दी, तमिल र मलयालम भाषामा रिलिज हुँदैछ । यो फिल्मलाई सन् २०१९ कै ठूलो एक्सन फिल्म मानिएको छ ।

फिल्ममा श्रद्धाले एक प्रहरी अधिकृतको भूमिका निभाएकी छन् । ‘म पहिलोपटक फिल्ममा प्रहरीको भूमिका अभिनय गरेको छु । यो भूमिकाबाट उत्साहित छु । मेरो लागि देशको प्रतिनिधित्व गर्ने किसिमको भूमिका मिल्नु एउटा सम्मान नै हो’, उनले भनेकी छन् ।