काठमाडौं । क्यानडाको टोरन्टोमा ‘सिने स्टार अवार्ड २०२०’ हुने भएको छ । आगामी जनवरीको अन्तिम साता हुने अवार्डको घोषणा गरेको हो । हिल्सा इन्टरटेनमेन्ट नेपालको मुख्य आयोजनामा हुने अवार्ड जी.टी.ए. लायन्स क्लब टोरेन्टो क्यानडा र सिने मल्टीभिजन क्यानडाको सहकार्यमा हुनेछ ।
हिल्सा इन्टरटेन्मेन्टका प्रवन्ध निर्देशक प्रतिक बुढाथोकीले पर्यटन बर्ष २०२० लाई लक्षित गरेर क्यानडामा अवार्ड आयोजना गर्न लागेको बताए । पर्यटन बर्ष लक्षित कार्यक्रमले राष्ट्रिय पर्यटन प्रवर्धनमा ठुलो भुमिका खेल्ने र सरकारले पर्यटन बर्ष मनाइरँदा विदेशी भुमिका आयोजना हुन लागेको अवार्ड समारोहले सरकारी अभियानमा हातेमालो गर्ने अपेक्षा आयोजकले लिएको छ । दैनिक १ लाख बढि पर्यटकले भ्रमण गर्ने टोरन्टोमा अवस्थित विश्वकै सात आश्चर्य मध्येको एक ‘नायग्रा फल्स’मा नेपाली चलचित्र र नेपाली पहिचानलाई पुर्याउने प्रतिवद्धता पनि आयोजकले गरेको छ ।
ड्रिम हाइ नेपाल प्रा.लि. को इभेन्ट ब्यवस्थापन र नेपाल चलचित्र कलाकार संघको विशेष सहयोगमा आयोजना हुने ’सिने स्टार अवार्ड २०२०’ मा १२ प्रतिस्पर्धी विधा समावेश हुनेछन् भने जुरी अवार्ड र लाइफटाइम एचिभमेन्ट अवार्ड गरी कुल १४ विधामा अवार्ड तथा सम्मान वितरण गरिनेछ ।
जनवरी ३१ तारिखमा हुने अवार्ड आयोजना पुर्व २०७५ सालभर प्रदर्शनमा आएका फिल्महरुबाट उत्कृष्ट तीनको मनोनयन सार्वजनिक हुनेछ भने सबैविधाका उत्कृष्ट तीन प्रतिस्पर्धिलाई कार्यक्रममा सहभागी गराउने लक्ष्य आयोजकको छ । मोहन निरौला, रमेश बुढाथोकी र दिनेश डिसी सम्मिलित निर्णायक टिमको मुल्याङ्कनको आधारमा सम्बन्धित विधामा उत्कृष्ट मनोनयन चयन हुनेछन् ।
प्रतिक बुढाथोकी संयोजक रहेको टिममा नेपालबाट बसन्त निरौला, सिपी पौडेल, पिटरकुमार श्रेष्ठ, बिजय बस्याल, श्रीधर पौडेल, बैकुण्ठराज पराजुली आयोजक सदस्य छन् । हरेक बर्ष आयोजना गर्ने लक्ष्य सहित घोषणा भएको अवार्डले अझै पनि नेपाली चलचित्रको उपस्थिति प्रभावकारी बन्न नसकेको क्यानडामा कलाकारहरुको उपस्थितिमा नेपाली चलचित्र र कला संस्कृतिको पहिचान र्पुयाउनमा मद्धत पुग्ने विश्वास आयोजकको छ ।