मुम्बई(एजेन्सी) । बलिउडमा घरेलू बक्स अफिसमा हालसम्म शाहीद कपुर अभिनित फिल्म ‘कबीर सिंह’ले सर्वाधिक कलेक्सन गरे पनि ओभरसिज कमाईको हिसाबमा सलमान खानको फिल्म ‘भारत’ अगाडि आएको छ ।
इदमा रिलिज भएको फिल्म ‘भारत’ले ओभरसिजमा झन्डै १० दशमलब ७१ मिलियन डलर अर्थात् ७५.९९ करोड रुपैंया कलेक्सन गरेको थियो । अली अब्बास जफर निर्देशित फिल्ममा कटरीना कैफ र सुनिल ग्रोवर पनि प्रमुख भूमिकामा छन् । फिल्म व्यापार विश्लेषक गिरीश जौहरका अनुसार यो फिल्म सलमानको करियरको लगातार चौधौं सय करोडको फिल्म हो ।
भारतबाट ९२ औं ओस्कार एकेडेमी अवार्डमा छनोट भएको फिल्म ‘गली ब्वाइ’ सूचीको दोस्रो नम्बरमा छ । जोया अख्तर निर्देशित र रणवीर सिंह तथा आलिया भट्ट अभिनित फिल्मले १० दशमलब २५ मिलियन डलर अर्थात् ७२ दशमलब ७३ करोड कलेक्सन गरेको थियो ।
त्यस्तै विक्की कौशलको फिल्म ‘उरी–द सर्जीकल स्ट्राइक’ तेस्रो स्थानमा परेको छ । फिल्मले ओभरसिजमा ७ दशमलब ४६ मिलियन डलर अर्थात ५२ दशमलब ९२ करोडको कारोबार गरेको थियो ।