वितरकको सल्लाहमा सर्यो सरौतो

काठमाडौं । आगामी कार्तिक २२ गतेबाट प्रदर्शनमा आउने भनिएको फिल्म ‘सरौतो’ एक हप्तापछि सरेको छ । वितरकहरुसँगको सल्लाह अनुसार फिल्मको रिलिज डेटमा हेरफेर गरिएको फिल्मका निर्देशक हरी हुमागाईले बताए । ‘हामीले घोषणा गरेको मितिमा एकसाथ अन्य धेरै फिल्म हुनेभए पछी र पछिल्लो समयको बदलिदो रिलिज डेटको अवस्थाले गर्दा आपसी सल्लाहमै यसको हेरफेर गरिएको हो’ हरीले भने ।

फिल्मको ट्रेलर र गीतसंगीत सार्वजनिक भइसकेको छ भने भिटेनको गीतलाई सार्वजनिक गर्ने तयारीमा टिम छ । म्युजिक भिडियो र एडमा चिनिएको नाम हरीले यसै फिल्म मार्फत निर्देशनमा समेत डेब्यु गर्दैछन् । सार्वजनिक ट्रेलरमा सुमी मोक्तान एक्सन अवतारमा छिन् भने लियो ट्यांक र सन्नी सिंह पनि फिचर्ड छन् । फिल्ममा आमिर गौतम , अरुणा कार्की , सुवाङ्गम शाह , लियो ट्यांक , मनिषा पुन मगर , प्रतिक दुलाल , राजेश रोय , मनोज तामांग लगायतको अभिनय रहेको छ । विजय , युवराज र धिरेनको उपस्थितिले दर्शकलाई पुरानो दिनको याद गराउन सक्छ ।

फिल्ममा रिभेन्जको कथा देखाइएको छ । बिराञ्जना इन्टरटेनमेन्ट , स्क्वायर वान क्रिएसन , राइजिङ्ग फिल्म्स एण्ड ग्लिटर स्टुडियोको ब्यानरमा निर्माण भएको फिल्मलाइ रिभेन्ज स्टोरी भनिएको छ । फिल्ममा राघव कृष्ण गौतमको लेखन , उत्तम हुमागाईको छायांकन , निमेष श्रेष्ठको सम्पादन , प्रविन मानन्धरको कलर , ब्याक ग्राउण्ड स्कोर ग्लिटर स्टूडियो , शंकर महर्जनको एक्सन रहनेछ ।

यसमा राजन राज शिवाकोटी , पुष्पन प्रधान , कमल खत्रीको संगीत रहेको छ भने राजन , पुष्पन र कमलसँगै मिलन अमात्य , श्रेया सोतांगको स्वर दिएका छन् । यसलाई काठमाडौँ , सिम्रौनगठ लगायतका तराइको स्थानमा मुख्य रुपमा छायांकन गरिएको छ । राजेश रोय क्रिएटिभ निर्देशक रहेको फिल्मलाइ उपत्यकामा गोपाल काजि कायस्थ र मोफसलमा एफडी कम्पनिले वितरण गर्नेछ ।