काठमाडौं । बाल मनोविज्ञानमा आधारित रहेर निर्माण हुने नयाँ फिल्म ‘ब्ल्याक बोर्ड’को निर्माणको घोषणा गरिएको छ । भरतपुरको धावन रिक्रयशन सेन्टरमा चलचित्र युनिटले गत शुक्रबार पत्रकार सम्मेलन गर्दै जानकारी गराएको हो ।
फिल्ममा नेपाली समाजमा अभिभावकहरुले आफ्ना सन्तानहरुको हेरविचार गर्न नसक्दा उत्पन्न हुने असर र समाधानका उपायहरुको खोजी गरिने चलचित्रका निर्देशक सुलेमान शंकर (इकु)ले बताए । इकुको डेब्यू निर्देशन रहने फिल्ममा सरोज खनाल, निर्मल शर्मा (गैंडा), सुलेमान शंकर (इकु), शिशिर भण्डारी, अशु न्यौपाने, भेषराज गौतम, बाल कलाकार दिक्पाल गौतम, जेनिश थपलिया, रक्षा कंडेल लगायतका कलाकारहरुको अभिनय रहनेछ ।
सम्मान इन्टरटेनमेन्ट र एस.एम.एस फिल्मस्को ब्यानरमा निर्माण हुने चलचित्रमा अर्जुन सापकोटा र सर्वाणी पाण्डे प्रस्तुतकर्ता रहेका छन् । फिल्मको कथा किरण माईकल घिमिरे र सुदिप आत्रेय लेखेका हुन् भने क्रियटिभ हेडको जिम्मेवारी सशान कंडेलले सम्हालेका छन् ।
जनक थपलिया र रविन लिवाङ कार्यकारी निर्माता रहेको फिल्मसम्मान कंडेल, निरभिङण घिमिरे, सुरेश कंडेल र सरला पाण्डे निर्माता रहेका छन भने सह–निर्मातामा प्रकाश लामा, विशाल पौडेल र प्रियान्स कंडेल रहेका छन । चलचित्रमा किरण माइकल घिमिरेको संगित रहनेछ । एकमहिनापछि छायांकन हुने चलचित्रको ९० प्रतिशत अंश चितवन÷नवलपरासीमा हुने र बाँकी १० प्रतिशत अंश काठमाडौँमा हुने निर्माण पक्षले जानकारी दिएको छ ।