दर्शकबाट सन्तुष्ट पोइ पर्यो काले

काठमाडौं । तिहारको छेको पारेर गत शुक्रबारबाट प्रदर्शनमा आएको फिल्म ‘पोई पर्यो काले’ प्रति दर्शकले देखाएको चासो प्रति निर्माण पक्षले सन्तुष्टि व्यक्त गरेको छ । फिल्मका लेखक तथा निर्देशक शिशिर राणाले मल्टीप्लेक्स र सिंगल दुवै स्क्रिनमा फिल्मले दर्शकको साथ पाई रहेको र हेर्ने जति दर्शकले फिल्मबाट मनोरन्जन पाई रहेको प्रतिक्रिया दिएको निर्माण पक्ष सन्तुष्ट रहेको बताए । यद्यपि फिल्म युनिटले हालसम्मको कलेक्सन सार्वजनिक गरेको छैन् ।

फिल्म हेर्ने दर्शकले नायिका पुजा शर्मा र नायक आकाश श्रेष्ठको काम मनपराएका छन् । सेन्सर बोर्ड बाट युनिभर्सल प्रमाणपत्र पाएको फिल्मले मानिसको बाहिरी रुप हेरेर राम्रो नराम्रो भनिने गलत सोच राख्नु हुँदैन भन्ने सन्देश बोकेको छ । मानिसको रुप भन्दा पनि मन सफा र गोरो हुनुपर्ने बिषयलाई उठाउन खोजेको चलचित्रमा निर्देशक शिशिर राणाकै कथा रहेको छ ।

रेड बर्ड प्रोडक्शनको ब्यानरमा निर्माण भएको फिल्ममा पूजा शर्मा,आकाश श्रेष्ठ, सौगात मल्ल,श्रृष्टी श्रेष्ठ, सोहित मानन्धर, राजाराम पौडेल लगायतको मुख्य भूमिका छ । किरण नेपाली प्रस्तुतकर्ता रहेको चलचित्रमा दिपक मनाङ्गे र सरोज नेपाली निर्माताको रुपमा छन् भने अमलादेवी राई कार्यकारी निर्माताको रुपमा छिन् । शिव ढकालको छायांकन रहेको चलचित्रमा अर्जुन पोखरेल र पुरुषोत्तम न्यौपानेको संगीत, रामजी लामिछाने र कमल राइको कोरियोग्राफी रहेको छ ।