मुम्बई(एजेन्सी) । बलिउड बादशाह शाहरुख खानको आज जन्मदिन हो । आफ्नो अभिनयले बलिउडमा राज गरेका शाहरुख अभिनयसँगै व्यवसायमा पनि उत्तिकै सक्रिय छन् । जसबाट उनले मोटो कमाई पनि गरेका छन् । उनी आजबाट ५४ वर्षको भएका छन् । शाहरुखको जन्म सन् १९६५ नोभेम्बर २ मा भारतको नयाँदिल्लीमा भएको थियो । शाहरुख कुनै पनि फिल्ममा अभिनयका लागि करोडौं रुपैंयाँ पारिश्रमिक लिन्छन् । आफ्नै निजी जेट विमान भएको शाहरुखको कमाई ब्राण्ड इन्डोर्समेन्टसदेखि लिएर आफ्नो निजी व्यवसायसम्म छ ।
मन्नतको मूल्य २ सय करोड
आफ्नो कमाईको कारण शाहरुखको नाम फोब्र्स लिष्टमा प्रत्येक वर्ष समावेश भइरहन्छ । उनको मुम्बईका अलावा दुबईसहित कैयौं देशमा सम्पत्ति छन् । उनको हालसम्मको सबैभन्दा महंगो सम्पत्ति मन्नत हो । कुनै बेला पारसी परिवारको मालिकानावाला मन्नतलाई शाहरुखले १३ दशमलब २ करोड रुपैंयाँ किनेका थिए । हाल यो मन्नतको मूल्य दुई सय करोड भन्दा बढी छ । शाहरुख परिवारसँग यो घरमा झन्डै १७ वर्षदेखि बस्दै आएका छन् ।
प्रोडक्शन हाउसबाट मोटो कमाई
शाहरुख अभिनयका अलावा आफ्नो फिल्म प्रोडक्सनबाट पनि मोटो कमाई गर्दछन् । शुरुवाती दिनमा उनलाई फिल्म निर्माणबाट खासै सफलता मिलेको थिएन । तर रेड चिलिज इन्टरटेनमेन्ट खोलेपछि उनले सफलता पाए । यसअघि उनले केही साथी र कोस्टार जुही चावला र अजीज मिर्जासँग मिलेर ड्रिम्स अनलिमिटेड नामक कम्पनी खोलेका थिए । तर यो कम्पनी सफल हुन सकेन । उनी हालका दिनमा रेड चिलिजको नामबाट भिजुअल इफेक्ट्स स्टुडियो पनि सञ्चालन गरिरहेका छन् ।
कैयौं टिमका मालिक
जब सन् २००८ मा इन्डियन प्रिमियर लिग(आइपीएल) को शुभारम्भ भयो । त्यो बेला उनले ७५ दशमलब ९ मिलियन डलरमा कोलकाता नाइट राइडर्सको फ्रेन्चाइजी किनेर सबैलाई अचम्मित बनाएका थिए । उनको कामलाई जुहीका पति जय मेहताले साथ दिएका थिए । यसबाहेक उनीसँग क्यारेबियन प्रिमियर लिगको टिम ट्रिबान्गो नाइट राइडर्स र टी २० ग्लोबल लीग टिम केपटाउन नाइट राइडर्सको साझेदार अधिधकार छ । उनले मोटर स्पोर्टिङ लिग आइवान सुपर सिरिजमा मुम्बई फ्रेन्चाइजी पनि लिएका छन् ।
लग्जरी कारका मालिक
कारको कुरा गर्दा हुन्डाईको ब्राण्ड एम्बासेडर भएपनि उनीसँग यो कम्पनीको एउटा कार पनि छैन । हालको समयमा उनीसँग बीएमडब्लु ६ र ७ सिरिजका कारहरु छन् । बीएमडब्लुको ६ सिरिजको मूल्य ७७ हजार ५ सय करोड रुपैंयाँ र ७ सिरिजको मूल्य ८१ हजार ५ सय करोड रुपैंयाँ छ । यसबाहेक उनीसँग रोल्स रोयस ड्रोपहेड कुप र बेन्टले कन्टिनेन्टल जीटी पनि छ । उनीसँग मित्सबुशी पजेरो र ल्याण्डक्रुजर पनि छ । स्पोर्टस् कारमा उनीसँग ओडी ६ र बुगाटी वेरोन छ ।
विश्वकै महंगा अभिनेता
केही मिडियाले शाहरुखले एक ब्राण्डको इन्डोर्समेन्टका लागि १ दशमलब ५० लाख डलर चार्ज लिने गरेको दाबी गरेका छन् । फोब्र्स लिष्ट २०१७का अनुसार शाहरुख खानको कुल सम्पत्ति ३८ मिलियन डलर छ । शाहरुख विश्वकै ८ औं महंगा अभिनेता हुन् ।