‘जब से तेरे नैनामा ५० टेक खाएँ’

मुम्बई(एजेन्सी) । बलिउड अभिनेता रणवीर कपुरले निर्देशक सन्जय लीला भन्सालीको फिल्म ‘सावरिया’बाट बलिउडमा डेब्यू गरेका थिए । यो फिल्मको त्यो समयमा राम्रो चर्चा भए पनि बक्स अफिसमा भने यसले केही कमाल गर्न सकेन । तर यो फिल्मले बलिउडका लागि एउटा आशलाग्दा कलाकार दिएको थियो ।

भन्साली बलिउडका उच्चस्तरका निर्देशक हुन् । उनी आफ्नो फिल्मका लागि सबैकुरा उपयुक्त हुनुपर्छ भन्ने मान्यता राख्छन् । उनी आफ्नो फिल्मका दृश्यमा साना साना कुरामा पनि ध्यान दिन्छन् । त्यसकारण पनि उनको फिल्म सुन्दर र हिट हुन्छन् ।

केही समय अघि फिल्म समीक्षक तथा पत्रकार अनुपमा चोपडासँग रणवीरले एक अन्तरवार्तामा फिल्म ‘सावरिया’सँग जोडिएको विषयमा कुराकानी गरेका थिए । उनले आफूले ‘जब से तेरे नैना’ गीतको दृश्यका लागि निकै लामो टेक खानुपरेको सुनाए ।

‘मैले आफ्नो करियरको शुरुवात सन्जय लीला भन्सालीबाट गरेको थिएँ र उनी कुनै पनि काम ४५ टेक भन्दा कममा गर्दैन थिए । मैले आफ्नो टाउको घुमाउँदा पनि ५० टेक दिनुपरेको थियो ।’ उनले भनेका छन् ।