मायाले रोइन पोई पर्यो कालेकी पुजा

काठमाडौं । तिहारको अवसर पारेर गत कार्तिक ८ गते बाट प्रदर्शनमा आएको फिल्म ‘पोई पर्यो काले’ तेश्रो सातामा प्रवेश गरेको छ । काठमाडौंको गोपीकृष्ण,गुण र अस्ट नारायणमा र काठमाडौं बाहिरका केहि हलहरुमा प्रदर्शनरत यो फिल्मको स्याड भर्सनको गीत ‘मायाले’ सार्वजनिक भएको छ । प्रेम परियारको स्वरमा रहेको गीतमा रघु परियारको शब्द र पुरुषोत्तम न्यौपानेको संगीत छ । गीतमा फिल्मकी नायिका पुजा शर्माको पीडा र वेदनालाई देखाइएको छ ।

निर्देशक शिशिर राणाको लेखन र निर्देशक रहेको फिल्मले मानिसको बाहिरी रुप हेरेर राम्रो नराम्रो भनिने गलत सोच राख्नु हुँदैन भन्ने सन्देश बोकेको छ । रेड बर्ड प्रोडक्शनको ब्यानरमा निर्माण भएको चलचित्रमा पूजा शर्मा,आकाश श्रेष्ठ, सौगात मल्ल,श्रृष्टी श्रेष्ठ, सोहित मानन्धर, राजाराम पौडेल लगायतको मुख्य भूमिका छ । तिहारको समयमा चलचित्र हेरेर दर्शकले मनोरञ्जन लिई रहेका छन् ।

किरण नेपाली प्रस्तुतकर्ता रहेको चलचित्रमा दिपक मनाङ्गे र सरोज नेपाली निर्माताको रुपमा छन् भने अमलादेवी राई कार्यकारी निर्माताको रुपमा छिन् । शिव ढकालको छायांकन रहेको चलचित्रमा अर्जुन पोखरेल र पुरुषोत्तम न्यौपानेको संगीत, रामजी लामिछाने र कमल राइको कोरियोग्राफी रहेको छ ।