सत्यमोहनलाई जन्म शताब्दी सम्मान

काठमाडौं । कीर्तिमानी गीतकार डा. डीआर उपाध्यायका एकसाथ ७ एल्बम सार्वजनिक भएको छ । सोमबार राजधानीमा आयोजित कार्यक्रममा वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशी, गायिका ज्ञानु राणा, अभिनेत्री वसुन्धरा भुसाललगायतले सामुहिक रुपमा एल्बम सार्वजनिक गरे ।

सार्वजनिक भएका एल्बममा ‘अन्जान तिर्खा’, ‘सुधारस’, ‘स्वर्गघर’, ‘नजरको तीर’, ‘सेभेन्थ कड्स’, ‘सौभाग्यको सिन्दुर’ र ‘अनुभुतिको मझेरीमा’ रहेका छन् । कार्यक्रममा गीतकार डिआरका एक उपन्यास ‘सपनाकी रानी’ र ८ उपन्यासहरुको संगालो एउटै पुस्तक समेत सार्वजनिक भयो ।

कार्यक्रममा बाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीलाई ५१ हजार नगद सहित दोसल्ला र ‘जन्मसताब्दी अभिनन्दन २०७६’ ताम्रपत्रद्वारा सम्मान गरिएको थियो । राष्ट्रकवि माधवप्रसाद घिमिरे र बाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीको हातबाट एल्बम सार्वजनिक गर्ने भनिएपनि राष्ट्रकवि माधवप्रसाद घिमिरे अस्वस्थताका कारण कार्यक्रममा उपस्थिति हुन सकेनन् । राष्ट्रकवि माधवप्रसाद घिमिरेलाई भने ५१ हजार नगद सहितको ‘शतबार्षीकी अभिनन्दन २०७६’ सम्मान उहाँकै निवासमा गएर गरिएको आयोजकले जानकारी दियो ।

सोही अवसरमा हाँस्य सम्रागी बसुन्धरा भुसाल र वरिष्ठ गायिका ज्ञानु राणा समेत सम्मानित भए । कार्यक्रममा शताब्दी पुरुष जोशीले डा. डीआरले नेपाली गीत सङ्गीतलाई विश्वमा चिनाउने महत्वपुर्ण काम गरेको बताए । उनको डीआरका कार्यको प्रसंसा गर्दै चर्चा योग्य काम गरेको बताए ।

२०७५ साल मंसिरमा एकसाथ ७ गीति एल्बम सार्वजनिक गरेर विश्व रेकर्ड राखेका डा. डीआरका यसअघि ‘जखम’, ‘माउन्टेन मेलोडी’, ‘नसालु नजर’, ‘जोहो’, ‘अन्तराप’, ‘प्रतिनाद’, ‘सहेली’, ‘परिष्कृत’, ‘कृति’ र ‘पृथक’ गरी ११ एल्बम सार्वजनिक भएका छन् ।  उनका हालसम्म ‘वज्रघात’, ‘त्यागी’, ‘भाग्यचक्र’, ‘अपवित्र छायाँ’, ‘स्वार्थी’, ‘विटुली’, ‘अतिरिक्त’, ‘दगाबाज’, ‘अधुरो प्रेम’ र ‘सपनाकी रानी’ प्रकाशित कृति हुन् ।