यसकारण अन्तरेमा जोडिए मुकुन

काठमाडौं । फिल्म ‘बुलबुल’ फेम्म अभिनेता मुकुन भुषाल उर्फ ‘चोपेन्द्र’ निर्देशक सत्यराज चौलागाईंले निर्देशन गर्न लागेको नयाँ फिल्म ‘अन्तरे’को शीर्ष भूमिकामा फाइनल भएका छन् । अभिनेता भुषाल यसै साता फिल्ममा आबद्ध भएका हुन् ।

उनले आफ्नो समय र टीम दुवै मिल्न आएको बताए । ‘फिल्मको मूख्य पात्र अन्तरे हो र अन्तरेको भूमिका बलियो छ । बुलबुलबाट मैले पाएको माया दर्शकबाट नमरोस् भनेर मैले धेरै स्क्रिप्ट पढिरहेको थिएँ । त्यहि बिचमा यो फिल्मको पनि पाएँ । मैले जे खोजेको थिएँ त्यहि यसमा पाएँ’ मुकुनले भने, ‘मैले मेरो आफ्नो पात्र मात्र हेरिन, पुरै स्क्रिप्ट पढेँ । स्क्रिप्टमा जे लेखिएको छ । पुरै फिल्ममा देखाउन सकिने गरि लेखिएको छ । समग्रमा ‘अन्तरे’ नेपालमा चाहिएको जस्तै फिल्म बन्नेछ’ ।

यो फिल्म चरित्रात्मक भएकोले त्यही किसिमको चरित्र निर्वाह गर्ने अन्य कलाकारहरु छनोटको काम भइरहेको निर्देशक चौलागाईँले बताए । रेड आइज फिल्म्सको ब्यानरमा निर्माण हुन लागेको यो फिल्ममा राज पण्डित र सुबास राईले लगानी गर्दैछन् । फागुनको पहिलो साता फ्लोरमा जाने तयारी गरिरहेको निर्माता राज पण्डितले बताए ।