अफिसियल पोस्टरमा दि कर्माकी रिसाहा परमिता

काठमाडौं । आगामी माघ १७ गतेलाई रिलिज मिति तोक्दै फिल्म ‘दि कर्मा’को अफिसियल पोस्टर सार्वजनिक भएको छ । निर्माता जयराज रायले रिलिज मितिसँगै प्रचारप्रसारका पहिलो सामग्रीस्वरुप पोस्टर रिलिज गरिएको बताए ।

देवकुमार श्रेष्ठले निर्देशन गरेको फिल्मले नेपाल र भारतको सिमा क्षेत्रमा हुने घटनालाई केन्द्रीत गरेको छ । रामेश्वर कार्कीले छायांकन गरेको फिल्म जय मिडिया म्यानेजमेन्ट र श्रीत मिडिया एण्ड इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भएको हो । जयराजकै कथा रहेको फिल्ममा श्रीदेव बि.एल. र निशा खतिवडासमेत निर्माता छन् । फिल्ममा शारदा खड्का अर्याल सह–निर्माताको रुपमा छन् ।

भारतीय कलाकारको अभिनयका कारण पनि यो फिल्मलाई चासोको रुपमा लिईएको छ । फिल्मको छायांकन नेपालको तराई क्षेत्रमा भएको हो । भारतका मोडल तथा कलाकार करण वर्माको अभिनय रहेको यो फिल्ममा करणका अलावा नीता ढुंगाना, परमिता राज्यलक्ष्मी राणा, बुद्दी तामाङ, देवकुमार श्रेष्ठ, अनुप सक्सेना, संगीता नापितलगायतका कलाकारहरुको अभिनय रहेको छ । ‘दि कर्मा’को पटकथा तथा संवाद शुशील पोखरेलको हो ।

नेपाल रिलीजसँगै अन्य मुलुकहरुमा पनि यो फिल्म रिलीज हुने बताईएको छ । हिमालयन बिजनेस ग्रुपले अष्ट्रेलियामा रिलीज गर्ने बताईएको छ भने एभरेष्ट बिजनेश ग्रुपले दक्षिण कोरियामा रिलीज गर्नेछ । त्यसैगरी जापान, हङकङ, थाईल्याण्ड, म्यानमार, मलेशिया, विभिन्न खाडी मुलुकहरुमा रिलीज पछि अमेरिका, बेलायत तथा यूरोपमा विभिन्न मुलुकहरुमा प्रदर्शन गरिने निर्माता श्रीदेवले बताए ।