काठमाडौं । केहीबर्ष अघि सञ्चारकर्मी पारस प्रकाश नेपालले कालापानीको विषय समेटेर राष्ट्रिय भावको गीत ‘नसोध है यी आँखाबाट’ ल्याएका थिए । यसपटक कवि तथा संचारकर्मी फूलमान वलसँग सहकार्य गरि उनले नयाँ गीत सार्वजनिक गरेका छन् । ‘तिमीले टेक्ने माटो उही’ बोलेको गीत वलले लेखेका हुन् भने नेपालले स्वर दिएका छन् । संगीत भने जुगल डंगोलको रहेको छ ।
केही दिन अघि मात्रै युट्युबमार्फत गीतको लिरिकल भिडियो सार्वजनिक गरिएको छ । राष्ट्रिय भावको गीतले सबै नेपाली आ–आफ्नो पहिचानसहित एकताबद्ध हुनुपर्छ भन्ने सन्देश दिएको छ । ‘मुलुक सम्मृद्धितिर गइरहेको बेला यो गीतले सदभाव र एकताको वकालत गर्छ’, गायक नेपालले भने, ‘छिमेकको मिचाहा प्रवृत्तिले गर्दा पनि यो गीत यतिबेला थप अर्थपुर्ण बनेको छ ।’
संगीतकार जुगल डंगोलले गीत समसामयिक राष्ट्रिय भावना समेटिएको दावी गरे । डंगोलसित गायक नेपाल र गीतकार बलले अरु गीतमा पनि सहकार्य गरेका छन् । यसअघि वलकै ‘म फूल हुँ…’ गीतमा डंगोलले संगीत दिएका छन् भने नेपालका आधा दर्जन गायनमा डंगोलले सांगीतिक सहकार्य गरेका छन् ।