रिलिज अगावै सलमानको दबंग ३ विवादमा

मुम्बई(एजेन्सी)– बलिउड सुपरस्टार सलमान खानको शो ‘बिग बोस १३’मा आएको विवादसँगै सलमानको फिल्म ‘दबंग ३’ पनि विवादमा तानिएको छ । रिलिजको तयारीमा रहेको यो फिल्मको शीर्ष गीतको ट्रयाकलाई लिएर एक नयाँ मसला बजारमा आइसकेको छ । त्यसकारण पनि यो फिल्म विवादको घेरामा फस्दै गएको छ ।

फिल्म आगामी महिनाको २० डिसेम्बरमा बक्स अफिसमा आउँदैछ । सलमान जस्तै उनका फ्यान पनि यो फिल्मका लागि निकै उत्साहित छन् । फिल्मको दमदार ट्रेलर सबैले मनपराइ सकेका छन् । फिल्मको टाइटल ट्रयाक विवादमा फस्ने देखिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

हिन्दु जनजागृति समितिले फिल्मका निर्मातामाथि शीर्ष गीतले हिन्दुको भावनामा आहत पु¥याएको आरोप लगाएका छन् । झारखण्डको आयोजक सुनील घंवात र हिन्दू जनजगृति समिति महाराष्ट्रका सदस्यले शीर्ष गीतमा आपत्ति जनाएका छन् ।

‘यो गीतमा सलमान खानका साथ ऋषिहरुले आपत्तिजनक किसिमले नृत्य गरेका छन् । यो गीतमा सबै ऋषिको हातमा गितार छ र आपत्तिजनक डान्स गरिरहेका छन् । यसले हिन्दु भावनामा ठेस पुगेको छ’, उनले भनेका छन्, ‘कोही निर्माता फिल्मको गीतमा मुल्ला–मौलवी वा फादर बिशपलाई नचाउन सक्छन् ?’ फिल्मका निर्देशक प्रभु देवा हुन् ।