स्रष्टालाई म्यूजिक खबर अवार्डको मनोनयनपत्र

काठमाडौं । आठौं प्रभु पे म्यूजिक खबर म्यूजिक अवार्ड २०७६ का उत्कृष्ट पाँचभित्र मनोनयनमा परेका स्रष्टा र सिर्जनालाई मनोनयनको प्रमाण पत्र प्रदान गरिएको छ । शुभकामना मिडिया शोलुसनको आयोजनामा भएको आठौं प्रभु पे म्यूजिक खबर अवार्डमा गीतसंगीतका ४० विधामा पर्न सफल कलाकार र सिर्जनालाई उक्त प्रमाण पत्र प्रदान गरिएको हो ।नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका कुलपति नारायणभक्त श्रेष्ठ (रायन)को प्रमुख आतिथ्यता एवं म्यूजिक खबरका निर्देशक मिलन मोक्तानको सभापतित्वमा भएको कार्यक्रम सम्पन्न भएको थियो ।  अवार्डका कार्यक्रम निर्देशक शान्तिप्रियले अवार्डलाई गरिमालाई बढाउने क्रममा एकपछि अर्को म्यूजिक खबरले यात्रा अगाडि बढाएको बताए । अवार्डका बारेमा नकारात्मक टिप्पणी गर्नुभन्दा अवार्डलाई सबै मिलेर कसरी राम्रो गर्न सकिन्छ भन्ने तर्फ लाग्नु उत्तम भएको शान्तिप्रियले बताए ।

त्यस्तै अवार्डलाई शुभकामना दिँदै गीतकार संघ नेपालका अध्यक्ष चुडामणि देवकोटाले म्यूजिक खबर एउटा गीतसंगीत क्षेत्रका ब्राण्ड नै बनिसकेको हुँदा यसको गरिमा नै उच्च भएको बताए । उनले आठौं वर्षमा आउँदा प्रभु पेसँगको सहकार्यले अझ यसको उचाइ बढेको बताउँदै गीतसंगीतको उद्योगमा व्यापार छैन भनेपनि दिनानु दिन गीतसंगीत निर्माण हुन्छन् तिनीहरुलाई म्यूजिक खबरले लगानी गरेर महोत्सवका रुपमा प्रोत्साहन गर्दै आएकोमा खुबी व्यक्त गरे ।

अवार्डका सल्लाहकारको प्रतिनिधित्व गर्दै लेखक तथा निर्देशक मोहन निरौलाले म्यूजिक खबरसँग सुरुको वर्षदेखि नै हालसम्म सहकार्य गर्दै आउँदा म्यूजिक खबरले स्रष्टा कलाकारको हितमा महत्वपूर्ण कार्य गरेको बताए । म्यूजिक खबर गीतसंगीतको इतिहासमा पुरानो नाम बनिसकेको र यसले अवार्डका माध्यमले दर्जनौं स्रष्टाहरुलाई सम्मान र प्रोत्साहन गर्दै उद्योगलाई क्रियाशील बनाएको बताए ।

आठौं प्रभु पे म्यूजिक खबर म्यूजिक अवार्डको मनोनयनको प्रमाण पत्र प्रदान गर्ने कार्यक्रममा प्रभु पेको तर्फबाट बोल्दै नारायण ढकालले अबदेखि आगामी वर्षहरुमा पनि ‘प्रभु पे’ निरन्तर म्यूजिक खबरसँग सहकार्य गर्दै अगाडी बढ्ने प्रतिबद्धता जनाए । प्रभु पे अब वालेटमा आएको हुँदा सजिलो भएको बताउँदै गीतसंगीतका स्रष्टा कलाकारहरुको व्यस्ततालाई अब प्रभु पेले पूर्णता दिलाउने बताए ।

कार्यक्रममा धन्यवाद ज्ञापन गर्दै अध्यक्ष सुमन पण्डितले अवार्डमा सहभागी भएको सम्पूर्ण कलाकार नै म्यूजिक खबर परिवार भएको बताए । उनले कलाकारहरुकै लागि अवार्ड आयोजना गरेको बताउँदै वर्षमा एक दिन मेला महोत्सवका रुपमा अवार्डलाई लिन अनुरोध समेत गरे । म्यूजिक खबरले वर्षदिन भरि कलाकारकै पक्षमा वकालत गर्दै आएको छ भने एक दिन अवार्डका माध्यमले महोत्सव मनाउनका लागि उपयुक्त भएको बताए । कार्यक्रम संचारकर्मी लोकराज अधिकारीले संचालन गरेका थिए ।

आठौं प्रभु पे म्यूजिक खबर म्यूजिक अवार्ड यही मंसिर २० गते नेपाल प्रज्ञा प्रतिष्ठानको प्रेक्षालयमा दिनको ठीक दुई बजेबाट सम्पन्न हुँदैछ । गीतसंगीतका ४० विधामा आयोजना गरिएको यो अवार्डमा लामो समयसम्म गीतसंगीतमा सेवा गर्ने एक स्रष्टालाई दीर्घ साधना सम्मान प्रदान गरिने छ । त्यस्तै अवार्डमा दशकको सम्मान, डायस्पोरा संगीत सम्मान, पत्रकारिता संगीत सम्मान, बाल प्रतिभा प्रोत्साहन सम्मान प्रदान गरिँदै आइएको छ । अवार्डमा निर्देशक मिलन मोक्तान, कार्यक्रम निर्देशक शान्तिप्रिय, कार्यक्रम संयोजक सविता पोखरेल र अध्यक्षमा सुमन पण्डित रहेका छन् । पत्रकार निराजन भण्डारी र गायिका मन्जु पौडेल अफिसियल एमसीका रुपमा प्रस्तुत हुनेछन् ।